ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विश्वविद्यालय र सेती अस्पतालसंगै फाप्ला बन्यो चुनावी एजेण्डा

आइतबार ०३, फागुन २०८२ १०:५४

धनगढी ।  सुदूरपश्चिममा सबैले चासोका साथ हेर्ने निर्वाचन क्षेत्रमध्ये पर्छ, कैलाली– ५ । जहाँ प्रदेशको एक मात्र उपमहानगर तथा व्यापारिक केन्द्र धनगढी पर्छ । यसपटक उक्त निर्वाचन क्षेत्रबाट कांग्रेसले प्रदेश महामन्त्री नरनारायण शाह मनुलाई उम्मेदवार बनाएको छ ।

डोटीमा ह्याट्रिक गरिसकेका प्रेमबहादुर आले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेपछि कैलाली– ५ को चुनार्वी सरगर्मी झन बढेको छ । उक्त क्षेत्रमा एमालले जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्द चन्दले उम्मेदवार बनाएको छ । यीनै चार जनाबीच २१ फागुनको चुनावमा मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

अहिले उम्मेदवारहरु आफ्ना बाचासहित मतदातामाझ गइरहेका छन् । अधिकांश उम्मेदवारका चुनावी एजेण्डा उस्ताउस्तै छन् । कांग्रेस उम्मेदवार शाह, एमाले उम्मेदवार ढुंगाना र नेकपाका उम्मेदवार आलेले प्रतिबद्धतापत्र नै सार्वजनिक गरिसकेका छन् । तीनै जना उम्मेदवारले भोट माग्नका लागि सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण र गेटामा रहेको विश्वविद्यालय सञ्चालनको मुद्धालाई जोडतोडका साथ उठाएका छन् । जबकि गेटाको विश्वविद्यालय कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । 

पहिलोपटक चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका उम्मेदवार शाहले सेती अस्पतालको स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताए । ‘सेती अस्पतालको स्तरोन्नति लगायतका राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनका लागि जोडदार आवाज उठाउनेछु,’ शाहको प्रतिबद्धतापत्रमा भनिएको छ । संघीय सांसदमा निर्वाचित भए जनताको सेवा र समस्या समाधानको केन्द्र काठमाडौं नभई आफ्नै निर्वाचन क्षेत्रलाई बनाउने उनको दाबी छ । ‘देश संघीयतामा गइसकेपछि पनि यदि जनताले सानो कामका लागि पनि सिंहदरबार धाउनुपर्छ भने संघीयताको अर्थ रहँदैन,’ उनी भन्छन्, ‘म निर्वाचित भएँ भने मेरो सचिवालय यही क्षेत्रमा राख्छु र जनताका सबै समस्या यहीँबाट समाधान गर्नेछु ।’ शाहले धनगढीमा स्थायी सचिवालय स्थापना गर्ने र त्यस सचिवालयलाई सेवा केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारेका छन् । उनका अनुसार सचिवालयमा आएका जनताका गुनासो, सुझाव र मागहरूलाई व्यवस्थित रूपमा संकलन गरी संघीय सदनमा उठाइनेछ । आवश्यक परे सम्बन्धित मन्त्रालय र निकायसँग प्रत्यक्ष समन्वय गरेर समाधानको पहल गरिनेछ । उनले धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने पनि घोषणा गरेका छन् । 

शाहले घोषणापत्र सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रतिनिधिसभा र संसदका विभिन्न समितिमा आवश्यक नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण, पूर्वपश्चिम राजमार्गअन्तर्गत चिसापानी–गड्डाचौकी खण्डलाई छ लेनमा स्तरोन्नति, त्रिनगर भन्सारको स्तरोन्नतिको योजनालाई पनि शाहले आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । यस्तै, पश्चिम सेती र पञ्चेश्वर परियोजना, सुख्खा बन्दरगाहा, दैजीछेला औद्योगिक क्षेत्र, हरैया सेज क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्रसंगै महाकली करीडोर, सेती लोकमार्ग र फास्ट ट्रयाक निर्माण तथा सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजना पनि आफ्नो प्राथमिकतामा रहेको शाहले बताए ।

एमाले उम्मेदवार ढुङ्गानाले पनि धनगढीलाई महानगर बनाउने प्रतिबद्धता जनाएका छन् । ‘सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्दै सुविधासम्पन्न महानगर बनाउने कार्यमा लाग्नेछु,’ उनले भने । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि उनको छ । सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता उनको छ । गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र छ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार आलेमगरले लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजनालाई आफ्नो प्रतिबद्धताको एक नम्बरमै राखेका छन् । उनले शनिबार मात्रै २० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सबै अध्ययन पूरा भई बजेट अभावको कारण निर्माण हुन नसकिरहेको फाप्ला क्रिकेट स्टेडियम निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले धनगढीलाई क्रिकेट हवको रूपमा विकास गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यसैगरी, धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५ सय मिटर पु¥याउने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा तीन सयदेखि छ सय शय्याको अस्पताल सञ्चालन गर्ने र एमबीबीएस लगायतका विषयहरूको अध्ययन अध्यापनको सुरूवात गरेर सर्वसुलभ उपचारको व्यवस्था गरिने प्रतिपबद्धता पनि आलेको छ । ‘सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरू प्रदान गर्न संघीय सरकार मातहत सञ्चालन गर्न व्यवस्था मिलाइनेछ,’ उनको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘साथै सिकलसेलका बिरामीहरूको निम्ती छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइनेछ ।’ छोटो दूरीको धनगढी–खुटीया–दीपायल–बझड–चैनपुर हुदै उरै सडकलाई छिटो निर्माण सम्पन्न गरी सुदूरपश्चिम प्रदेशको आर्थिक तथा धार्मिक गतिविधि बढाइने पनि उम्मेदवार आलेले बताएका छन् । 

रास्वपा उम्मेदवार चन्द जनस्वास्थ्य अभियन्ताक रुपमा चिनिन्छन् । चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गरेका हुन् । उनले पनि सेती अस्पताललाई गेटाको विश्वविद्याल मातहत ल्याएर स्तरोन्नति गर्ने, धनगढीलाई सुविधासम्पन्न सहर बनाउने, सुशासन कायम गर्ने लगायतका मुद्धासहित भोट मागिरहेका छन् ।

प्रतिक्रिया