ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रबाट ६९ जना एमाले उम्मेदवार सिफारिस, कहाँबाट को ?

सोमबार २१, पुष २०८२ १२:५३

धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा रहेका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको हो । अछाम, कैलाली र कञ्चनपुरका निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गरेका छन् । अन्य जिल्लाले भने प्रदेशलाई उम्मेदवार सिफारिस गरेका छन् । सुदूरपश्चिममा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अछाम, कैलाली र कञ्चनपुर मात्रै हुन् । प्रदेशका चार निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस गरिएको छ भने अन्य कतिपय क्षेत्रमा तीन र कतिपय क्षेत्रमा तीनभन्दा बढीको नाम पनि सिफारिस गरिएको छ । केन्द्रले एक महिनासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ । १६ निर्वाचन क्षेत्रबाट बढीमा ४८ जनाको नाम सिफारिस हुनुपर्नेमा ६९ जनाको नाम सिफारिस गरिएको छ । 

एमाले कैलालीका उपसचिव चुडामणी भट्टले पाँच वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएर जिल्लामा आएको जानकारी दिए । कैलाली– १ बाट तपेन्द्र रावल, द्धारिका न्यौपाने, डिल्लीराज जोशी, प्रेम चौधरी, धुव्र खत्री, प्रकाश खड्का, लक्ष्मण थापा र चन्द्रावती शर्मा गरी ८ जनाको नाम सिफारिस भएर आएको भट्टले बताए । कैलाली–२ बाट भने एमालेले केन्द्रको परिपत्रअनुसार तीन जनाको मात्रै नाम सिफारिस गरिएको छ । झपट रावल, कमलाकुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस भएर आएको उपसचिव भट्टले जानकारी दिए । कैलालीको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले पूर्वमन्त्री गौरीशङ्कर चौधरी, पूर्वमेयर ममताप्रसाद चौधरी र पूर्वउपमेयर छायादेवी देवकोटालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लेखराज भट्टको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले एमाले उपमहासचिव भट्टको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । भट्ट विगतदेखि नै सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा माओवादीबाट विजयी भएका भट्ट २०७० सालमा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । २०७४ सालमा माओवादीबाटै विजयी भएका उनी २०७९ सालमा भने एमालेबाट चुनाव लडेका थिए । उक्त चुनावमा कांग्रेसका बीरबहादुर बलायरले भट्टलाई पराजित गरेका थिए । कैलाली–५ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतिको नाम सिफारिस गरेको हो । राना २०७४ सालमा आरजु राणालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ सालमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसंग पराजित भएका थिए । ढुङ्गाना एमाले कैलालीका जिल्ला अध्यक्ष हुन् भने सिजापती प्रदेश कमिटी सदस्य हुन् ।

कञ्चनपुरका पनि तीन वटै क्षेत्रले जिल्लालाई नाम सिफारिस गरी पठाएका छन् । कञ्चनपुर–१ बाट तीन जनाको नाम सिफासि गरिएको छ । विगठित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, नेताहरु कमला बोहरा र इन्दु कडरियाको नाम सिफारिस गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनका लागि मतदान भएको छ । मतदानमार्फत प्रदेश कमिटी सदस्य पार्वती जोशी, अशोककुमार चन्द र नरबहादुर धामी विजयी हुँदै उम्मेदवार सिफारिस भएका छन् । निर्वाचनमा जिल्ला अध्यक्ष लक्ष्मी बुढा भने पराजित भएकी छिन् । यस्तै, कञ्चनपुर क्षेत्र नम्बर ३ बाट भने एमालेले पूर्वसांसद दीपकप्रकाश भट्टको नाम एकल सिफारिस गरेको छ । भट्टले सोही क्षेत्रमा २०७४ सालको निर्वाचनमा रमेश लेखकलाई पराजित गरेका थिए । 

एमालेले अछाम जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पनि उम्मेदवार सिफारिस गरेको छ । अछाम क्षेत्र नम्बर १ को समन्वय कमिटीको बैठकबाट ९ जनाको नाम जिल्लामा सिफारिस गरेको छ । सिफारिस हुनेमा मलराज तिमिल्सेना, झपट बोहरा, मनसरा साउँद, कृष्णप्रसाद जैसी, तिलक कुँवर, जनक रावल, मोति बिक, पूर्ण साउँद र केशर साउँद रहेका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय कमिटीको बैठकबाट ८ जना उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समन्वय कमिटीका अनुसार पूर्वसांसद यज्ञ बोगटी, अछाम जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्याय, निर्वतमान अध्यक्ष चन्द्रबहादुर बोहरा, नेताहरु बमबहादुर बिसी, शिद्धप्रसाद ढुंगाना, नरेशकुमार शाही, भीम जनाला र हस्तना शाहीको नाम सिफारिस गरिएको छ । 

एमाले डडेल्धुराले पनि उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ । केन्द्रीय सदस्य पठानसिंह बोहरा, सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधानसभा सदस्य ज्ञानु गैरे र पूर्वराष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीको नाम पनि सिफारिस गरिएको छ । बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । ०७९ सालको निर्वाचनमा भने उनी तत्कालीन माओवादी केन्द्रका नेता खगराज भट्टसँग पराजित भएका थिए ।

बाजुराबाट चुनाव लड्न एमालेले ११ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीमार्फत प्रदेशमा ११ जनाको नाम सिफारिस गरिएको एमाले बाजुराले जनाएको छ । सिफारिस गरिएकाहरुमा कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र शाही, काशीबहादुर बिक र रामलाल कार्की रहेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट दामोदर भण्डारीको नाम एकल सिफारिस गरिएको छ । एमालेका केन्द्रीय सदस्यसमेत रहेका भण्डारी विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी जेन–जी आन्दोलनले सरकार ढल्नुअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । भण्डारी पछिल्लो तीन निर्वाचनमा विजयी भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कुवँरलाई पराजित गरेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए । 

यस्तै, दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम एकल सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटीको बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । उनी २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका थिए । २०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग उनी पराजित भएका थिए ।

बझाङबाट एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले केन्द्रीय सदस्य ऐन महरसहित तीन जनालाई उम्मेदवार सिफारिस गरेको हो । पार्टीको छैटौँ पूर्ण बैठकले महरसँगै मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो । महरलाई पहिलो तथा जिल्ला कमिटीका पूर्वउपाध्यक्ष जोशीलाई दोस्रो तथा प्रदेश कमिटी सदस्य खत्रीलाई तेस्रो नम्बरमा सिफारिस गरिएको हो । महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनलाई कांग्रेस र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवार बनेका एकीकृत समाजवादीका भानुभक्त जोशीले पराजित गरेका थिए ।

डोटीबाट उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम सिफारिस भएको छ । कैलाली–४ बाट एकल सिफारिस भइसकेका भट्टको नाम डोटीबाट पनि पहिलो नम्बरमा सिफारिस गरिएको हो । यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, नेताहरु दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम पनि सिफारिस भएको छ । प्रदेशसभा सदस्य पद त्यागेर मल्ल डोटीबाट उम्मेदवार बन्ने चर्चा छ । 

प्रतिक्रिया