ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नयाँ र पुराना दलका एउटै एजेण्डा, उस्तै प्रण, मतदाताले कसलाई पत्याउलान् ?

शुक्रबार ०८, फागुन २०८२ ०३:२७

धनगढी । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै जाँदा निर्वाचनमा सहभागी सबै दलका लगभग सबै उम्मेदवारहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

दल नयाँ होस् या पुरानो उनीहरुको चुनावी एजेण्डाको स्तर भने समान छन्, उनीहरु सबैले सुदूरपश्चिम सञ्चालनमा रहेका, सञ्चालनको तयारीमा रहेका र अलपत्र परेका आयोजनाहरुलाई विकास गर्न पहल गर्ने प्रतिबद्धता सहित चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

सबै भन्दा पहिले पुरानो दल नेपाली कांग्रेसका कैलाली क्षेत्र नं. ५ का उम्मेदवार नरनारायण शाह मनुले पञ्चेश्वर परियोजना, सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम, पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानी–गड्डाचौकी छलेन सडक स्तरोन्नती, त्रिनगर भन्सारको स्तरोन्नती, पश्चिमसेती, पञ्चेश्वर जलविद्युत, सुख्खा बन्दरगाहा, दैजीछेला औधोगिक क्षेत्र, हरैया सेज क्षेत्र, डुडेझारी औधोगिक क्षेत्र, सुदूरपश्चिम प्रदेशमा २२० केभिको प्रसारण लाईन निर्माण, महाकली करीडोर, सेतीलोकमार्ग र धनगढी–दिपायल–उरै फास्टट्रयाक, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती लगायत आयोजना बनाउन पहल गर्ने प्रतिबद्धता सहित प्रतिबद्धता सार्वजनिक गरे । 

उनले सुदूरपश्चिम प्रदेशमा उद्योग, कलकारखाना स्थापना गर्न नीजी लगानीकर्ताहरुलाई आकर्षित गर्न औधोगिक व्यवसायिक ऐन परिमार्जन गरी अन्य क्षेत्रको तुलनामा थप प्रोत्साहन, सहुलियत र सुविधाहरु उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाए । ‘धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन संघीय सरकारसंग पहल गर्नेछु,’ शाहको प्रतिवद्धता पत्रमा भनिएको छ, ‘यस क्षेत्रमा भूमिहीन, दलित, सुकुम्बासी, मुक्त कमैया, मुक्तहलिया र अव्यवस्थित बासोबासीहरुको सदियौदेखिको समस्या समाधान गरी लालपूर्जा वितरण गर्न पहल गर्नेछु । आधुनिक सूचना प्रबिधि पार्क स्थापना गरी युवालाई सूचना प्रविधि, डिजिटल सीप र स्टार्टअपसँग जोड्नेछु ।’

कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका उम्मेदवार शाहले प्रतबिद्धता पत्र सार्वजनिक गरिसकेपछि एकपछि अर्को राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरे । ति सबै दलहरुको घोषणा पत्रमा यिनै आयोजनाहरु भाषागत रुपमा परिमार्जन सहित दोहिरिदै गयो । नयाँ हुन् या पुराना सबै दलले यिनै आयोजनाहरु निर्माण गर्ने र नागरिकलाई त्यही खालका सेवासुविधा पु¥याउने, रोजगारी सिर्जना गर्न पहल गर्ने प्रतिबद्धताहरु दोहरिएका छन् ।

नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नं. ५ का उम्मेदवार आनन्दबहादुर चन्दले पनि सेती प्रादेशिक अस्पताल स्तरोन्नती र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषय आफ्नो बाचापत्रमा उल्लेख गरेका छन् । उनले यि अस्पताल र विश्वविद्यालयलाई एकीकृत स्वास्थ्य–शिक्षा इकोसिस्टमका रूपमा विकास घोषणा गरेका छन् । ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा विशेषज्ञ चिकित्सा अध्ययन अध्यापन सुरुवात गरिने छ,’ चन्दको घोषणापत्रमा भनिएको छ, ‘अनुसन्धानमा आधारित उपचार प्रणाली विकास गर्दै मुटु, मिर्गौला, क्यान्सर, जलन, सिकलसेल लगायतको विशिष्टीकृत उपचार सेवा सुरु गर्नेछु । कैलाली–५ लाई चिकित्सा शिक्षा र उपचार सेवाको केन्द्र निर्माण गर्नेछु ।’

पुराना दलका उम्मेदवारले सबै क्षेत्रमा भएभरका सबै योजना बनाउने प्रतिबद्धता गरेजस्तै गरी चन्दले पनि बाचापत्र सार्वजनिक गरेका छन् । उनले पनि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सुदूरपश्चिमको गौरवको आयोजनाका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय खेल स्टेडियम निर्माण जनाएका छन् । उनले धनगढीलाई सुदूरपश्चिम प्रदेशको आधिकारिक पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्दै पर्यटक सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरेका छन् ।

थारु संस्कृति, परम्परा र जीवनशैलीको संरक्षण र प्रवद्र्धन गर्दै थारु होमस्टे कार्यक्रम विस्तार गर्ने योजना पनि चन्दले उल्लेख गरेका छन् । ‘त्रिनगर (गौरीफन्टा) नाकाको स्तरोन्नति गरी मानसरोवरसम्मको सडक सञ्जाल निर्माण गरिनेछ,’ चन्दको बाचापत्रमा उल्लेख छ, ‘खप्तड, शुक्लाफाँटा, बडिमालिका, अपी–सैपाल तथा मानसरोवरसँग जोडेर पर्यटन क्षेत्रको विकास, धनगढीका प्रमुख धार्मिक स्थलहरू (बेहडाबाबा, शिवपुरीधाम) लगायतलाई एकीकृत धार्मिक पर्यटन मार्गका रूपमा विकास, जाखोरताललाई धनगढीको प्रमुख प्राकृतिक आकर्षणका रूपमा विकास गरिने छ ।’

उनले धनगढी विमानस्थल स्तरोन्नति गरी मध्यम–ठूला विमान उडानयोग्य हुनेगरी धनगढी विमानस्थलको सुदृढीकरण गर्ने, शहरी क्षेत्रमा सडक बत्ती, फुटपाथ, साइकल लेन र नाली निर्माणका लागि मापदण्ड बनाउने, कृषि, वन, पर्यटन र सेवा क्षेत्रमा आधारित साना तथा मझौला उद्योग स्थापनालाई प्राथमिकता दिने बाचापत्रमा उल्लेख गरेका छन् ।

उनले धनगढीलाई सुदूरपश्चिमको औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उल्लेख गर्दै व्यवस्थित औद्योगिक क्षेत्र÷व्यापारिक करिडोर स्थापना गरी उद्योग स्थापनाका लागि आवश्यक जग्गा, सडक, विद्युत् र पानी सुविधा सुनिश्चित गर्ने बाचा गरेका छन् । उनले उद्योग तथा व्यवसाय दर्ता, नवीकरण र कर एकद्वार डिजिटल प्रणालीमार्फत सरल रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाएका छन् ।

अर्को पुरानो दल भनिएको नेकपा एमालेका युवा नेता तथा कैलाली क्षेत्र नं. ५ का उम्मेदवार यज्ञराज ढुंगानाले धनगढी–खुटिया–दिपायल द्रुत मार्गको धनगढी–स्याउले खण्डलाई चार लेनमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले फाप्ला क्रिकेट खेल मैदानलाई अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट सहरका रुपमा विकास गर्ने समेत जनाएका छन् । उनले प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुगाउन एक घर, एक धारा नीतिको पूर्ण कार्यान्वयन गर्ने चुनावी एजेण्डामा समेटेका छन् । ‘यातायातका सवारी साधनहरुको वार्षिक रुपमा गर्ने नवीकरणको व्यवस्थालाई परिवर्तन गरि तीन वर्षमा एकपटक गर्ने प्रबन्ध गरिनेछ,’ उनको घोषणा पत्रमा उल्लेख छ, ‘धनगढीमा योजनाबद्ध आवास र व्यवस्थित बस्ती विस्तार गर्दै औद्योगिक क्षेत्र, कृषि बजार र पर्यटन प्रबद्र्धनका काम गर्नेछु । खुटिया र मोहना नदीमा जनताको तटबन्ध कार्यक्रम विस्तार गरि नदी नियन्त्रण कार्यक्रम सञ्चालन गर्नेछु । शिवगंगा खोला डुमोलिया पक्की पुल, घुराहा र घुरही नदीमा पक्की पुल, उर्मा र शान्ति कटान जोड़ने पक्की पुल निर्माण गर्न भूमिका खेल्नेछु ।’

उम्मेदवार ढुंगानाले बढ्दो बेरोजगारी न्यूनीकरण गर्न सीपमूलक तालिम केन्द्र स्थापना गर्ने र स्टार्टअप कर्जाको दायरा बृद्धि गर्दै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतामा उल्लेख गरेको छन् । उनले स्थानीय उद्योगमा युवालाई प्राथमिकता दिदै ‘एक युवा एक रोजगारक अभियान’ सञ्चालन गरी पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने बताए । 

एमालेकै केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. ४ का उम्मेदवार लेखराज भट्टले धनगढी–दिपायल–उरै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेता भट्टले कैलाली क्षेत्र नं. ४ मा बाढी, पहिरो र नदी जन्य कटान क्षेत्रलाई संरक्षण गर्न आवश्यक स्थानमा तटबन्धन निर्माणका लागि आवश्यक पहल गर्ने समेत आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् । उनले घोषणा पत्रमा उल्लेख गरिएको छ,‘पश्चिम सेती जल विद्युत आयोजना निर्माण, दोधारा–चाँदनी सुख्खा बन्दरगाहको विकास, औद्योगिक क्षेत्र हरैयालाई विशेष व्यापार क्षेत्रको रुपमा विकास, गेटा विमान स्थललाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरको विमान स्थलका रुपमा विकास र सेती लोक मार्गको स्तरोन्नती तथा विस्तारको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालन गर्न आवश्यक पहल गर्नेछु ।’

भट्टले गोदावरीमा हरैया औद्योगिक करिडोर, आयल निगम भण्डारण केन्द्र स्थापना तथा कृषि ज्ञान केन्द्र निर्माणको घोषणालाई कार्यान्वयन गरी अधिकतम रोजगारीका अवसरहरुको सिर्जना गर्न उक्त कार्यलाई अविलम्ब शुरु गर्न पहल गर्ने जनाएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ६०० शैय्याको अस्पतालमा विकास गरी एमबिबिए पठनपाठन तथा छिटो छरितो र प्रभावकारी स्वास्थ्य सेवाको यथाशिघ्र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता उम्मेदवार भट्टले जनाएका छन् ।

नेकपाकै नेता तथा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले पनि आफ्नो चुनावी घोषणा पत्रमा धनगढी–दिपायल–उरै सडक र पश्चिमसेती जलविद्युत आयोजना समेतेका छन् । डोटीमा नेकपाको उम्मेदवार भएका उनले आफू निर्वाचित भएपछि पश्चिम सेती र एसआर सिक्स जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाउन सदनमार्फत सरकारलाई निरन्तर दवाव दिने प्रतिवद्धता जनाएका छन् । उनले सहजपुर–बोगटान–दिपायल सडक कालोपत्रे गर्ने योजनालाई पनि घोषणा पत्रमा राखेका छन् । यस्तै डोटीका १६ वटा सडक आयोजनाहरु निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पर्यटन विकासका लागि खप्तड क्षेत्र, शैलेश्वरी धाम, तेलेलेक, बडिकेदार क्षेत्रको ‘एकिकृत खप्तड हेरिटेज टुर’ कार्यक्रम लागु गर्नुका साथै धार्मिक, पयटकीय तथा सांस्कृतिक स्थलको विकास र प्रबद्र्धन लागि पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

यि सबै उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रण गरेका छन् । उनीहरुले भन्ने शैली फरक फरक प्रयोग गरेपनि भ्रष्टाचार शून्य सहनशीलताको नीति लिएर सुशासन र विकासको पक्षमा दरिलो भएर घोषणा गरेका छन् । सबैका घोषणा पत्र पढ्दा एक भोट दिउँ–दिउँ लाग्ने छन् । तर कसलाई पत्याउने भन्ने प्रश्नले जनतालाई अलमलमा पारेको छ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा २१० जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया