धनगढी । दलित समुदायको सशक्तिकरण गर्ने सरकारी नीतिमाथि बसह गर्ने उद्देश्यले धनगढीमा दलित सामाजिक मञ्च आयोजना गरिने भएको छ । दलित विकास सेवा केन्द्र, दलित महिला अधिकार मञ्च, फेडो र राष्ट्रिय दलित नेटवर्कले पुस ९ गते धनगढीमा प्रदेशस्तरीय मञ्च आयोजना गर्ने भएका हुन् । दलित विकास सेवा केन्द्रका अध्यक्ष टेकबहादुर विकले छुवाछुत, बिभेद अन्त्य र दलित सशक्तिकरणका लागि राज्यको संविधान, ऐन, कानुन र संरचनाहरुमा व्यवस्था गरिएको प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्न जनदबाब दिने उद्देश्यले मञ्च आयोजना गरिने बताए ।
उनले संविधान, ऐन, कानुनमा समानुपातिक, समावेशिताका लागि गरिएका व्यवस्था र सुदूरपश्चिममा दलितहरुको हरेक तहमा समानुपातिक, समावेशीताको अवस्था, जातीय छुवाछुत अन्त्य र दलित सशक्तिकरणका लागि संविधान, ऐन, कानुन र संरचनामा गरियको व्यवस्था र सुदूरपश्चिममा जातिय छुवाछुतको अवस्था तथा छुवाछुत अन्त्य र दलित सशक्तिकरणका लागि राज्यले खेलिरहेकाको भूमिका र सुदूररपश्चिममा दलित समुदाय, दलित महिला बादी तथा वालवालिकाको आर्थिक अधिकार प्राप्तिको अवस्था र राज्यको निति, कार्यक्रम र बजेटमा गरिएको व्यवस्था विषयमा तीन वटा प्यानल छलफल आयोजना गरिने बताए ।
राजनीतिक दलको नेतृत्व, विज्ञ, दलित समुदायका अभियन्ता लगायत करिब सात सय जनाको सहभागिता रहने छलफलको आधारमा घोषणा पत्र समेत जारी गर्ने दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् । उनले नेपालको संविधानमा व्यवस्था भएका दलित अधिकारहरु प्राप्तिको लागि दवाव सृजना गर्न दलित सामाजिक मञ्च महत्वपुर्ण साझा मञ्च बन्ने बताइन् । उनले कानून निर्माण तथा विद्यमान व्यवस्थालाई कार्यान्वयनको अवस्थालाई सुधार हुने अपेक्षा गरिएको जानकारी दिइन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने मञ्चको लोगो समेत आइतबार सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया