धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नेपालमा तीन सातादेखि सक्रियता बढाएका छन् । मंसिर १७ गते नेपालगञ्ज आएका पूर्वराजा शाह आइतबारसम्म नेपालगञ्जमै थिए । गत मंसिर दोस्रो साता नेपालगञ्ज भ्रमणमा निस्किएका शाह नेपालगञ्जको लामो बसाइका क्रममा एक दिन कैलालीको भजनी पुगे ।
पूर्वराजा शाह मंसिर २३ गते भजनी नगरपालिका–५, बेलहामा रहेको शक्ति स्वरुपादेवीको आश्रम पुगेको जानकारी भने धेरैले पाएनन् । शाह भजनी आउनुको कारण थियो–शक्ति स्वरुपादेवी आश्रमका संरक्षक गजेन्द्र भण्डारीलाई भेट्नु । स्वामी भनेर परिचित भण्डारीले ‘भविष्य’ हेर्छन् । सुटुक्क भजनी पुगेका पूर्वराजा शाहले पनि आफ्नो भविष्यबारे भण्डारीसँग जिज्ञासा राखेको बताइएको छ ।
शाहले स्वरुपादेवी आश्रममा दुई घण्टा समय बिताएका थिए । धेरैले श्रद्धा गर्ने भण्डारीलाई भेट्न विशिष्ट व्यक्तिहरु आश्रम पुग्ने गर्छन् । भण्डारीलाई भेटेपछि सोही दिन नेपालगञ्ज पुगेका पूर्वराजासँग काठमाडौंबाट आएर पूर्वमन्त्री केशरबहादुर बिष्ट र उनका छोरा बिराज बिष्ट, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राजेन्द्र गुरुङलगायतले भेट गरेका थिए ।
नेपालगञ्ज बसाइमा रहँदा पूर्वराजासँग त्यहाँका राजावादी तथा हिन्दूवादी नेताहरुले पनि भेट गरेका थिए । भेटमा सबैजसोले राजतन्त्रवादीलाई एक बनाउनका लागि पूर्वराजाले सक्रियता देखाउनु पर्ने धारणा राखेका बताइएको छ ।
तीन साता लामो नेपालगञ्ज बसाइपछि पूर्वराजा शाह आइतबार सपरिवार भारत प्रस्थान गरेका छन् । नेपालगञ्जस्थित सोल्टी होटलमा बसेका शाह बिहान ११ बजे भारतको लखनउ प्रस्थान गरेका हुन् । पूर्वराजा शाह लखनउमा १० दिन बस्ने तालिका छ । लखनउमा रहँदा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेट गर्ने बताइएको छ ।
स्वरुपादेवी आश्रमका संरक्षक भण्डारीको सम्बन्ध उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग पनि राम्रो रहेको बताइन्छ । उनकै सुझावअनुसार पूर्वराजाले मुख्यमन्त्री योगीलाई भेट्ने कार्यक्रम बनाएको पनि चर्चा छ । पूर्वराजाको भारतीय नेताहरुसँगको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
भण्डारी २०६७ सालमा पनि चर्चामा थिए । ०६७ कार्तिक १९ गते लोकसेवा आयोग दिपायलका निर्देशक नवराज चौलागाई बेपत्ता भए । अनुसन्धानका लागि तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षक आनन्द मराठाको संयोजकत्वमा टोली बनायो । उनको खोजीका लागि लोकसेवा आयोगकै उपसचिव टिकाराम ज्ञवालीको नेतृत्वमा अर्को टोली पनि डोटी पुग्यो ।
लामो समयसम्म चौलागाईँ नभेटिएपछि तत्कालीन सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी बिमला थापा पुगेकी थिइन् भजनीका भण्डारीलाई भेट्न । डीआइजी थापा चौलागाईँको अवस्थाबारे जान्नका लागि भण्डारीलाई भेट्न पुगेकी थिइन् । भण्डारीले चौलागाईँको अवस्थाबारे भविष्यवाणी पनि गरेका थिए । तर, उनको भविष्यवाणीअनुसार प्रहरीले अनुसन्धान गर्न मानेको थिएन ।
प्रतिक्रिया