ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा शुरु भयो प्रदेशस्तरीय सीप तथा रोजगार मेला

सोमबार ०५, माघ २०८२ १२:४९

धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय सीप तथा रोजगार मेला धनगढीमा शुरु भएको छ ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले सोमबार उक्त मेला उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री भण्डारीले नेपालको जनशक्ति सबै विदेश प्लायन भएको कारण उत्पादन बृद्धि हुन नसकेको बताए । उनले विगतमा भएका बेथितिका कारण जेनजी आन्दोलन विस्फोट भएर आएको बताए । उनले श्रमप्रति हेर्ने दृष्टिकोण नै गलत रहेको बताए । उनले नेपाली युवाहरुको मनस्तिथि श्रम लाई ‘शरम’ को दृष्टिले हेर्ने रहेको बताए । सुदूरपश्चिम भौगोलिक रुपमा मात्रै नभई मनोबैज्ञानिक रुपमा समेत सुदूर रहेको बताए । 

सीप तथा रोजगार मेलामा २२ वटा विधामा सहभागी छ सय युवा युवतीलाई एक महिनाको सीप तालीम र दश दिनको रोगजारसम्बन्धी परामर्श दिइदै छ । उपमहानगरपालिकाले माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धी कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने जनाएको छ । मेलामा सहभागी छनौटका लागि मंसिर १५ देखि आवेदन संकलन गरिएको थियो ।

रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटररवेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुडरकुक, शैक्षिक सर्भिस अन्तर्गत पुरोहित, लेखा व्यवस्थापन, इसिडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्टरक्राफ्ट डिजाइनिङ अन्तर्गत बेतबाँस हस्तकला, साँस्कृतिक पोशाक, बुटिक तथा कढाई, निर्माण सर्भिसअन्तर्गत प्लम्विङ, फर्निचर, विल्डिङ वाइरिङ, वेल्डिङ र मेकानिकल अन्तर्गत एसी तथा फ्रिज मर्मत र मोबाइल तथा सिसिटिभी मर्मत गरी सात ओटा क्षेत्रका २२ ओटा विषयमा तालिम सञ्चालन हुने रोजगार शाखा प्रमुख चन्द्र महराले बताए । उनले सांस्कृतिक पोसाक निर्माणतर्फ ७५ जनालाई तालिममा सहभागी रहेको बताए । 

उपमहानगरका नगर प्रमुख गोपाल हमालले ५१ वटा पालिकाबाट सहभागी रहेको बताए । उनले तालीम लिइसकेपछि सहभागीलाई रोजगारसंग जोडिने बताए । उनले धनगढी सबै पालिकाको साझा स्वामित्वको बजार रहेको हुनाले यहाँबाट उत्पादन हुने जनशक्तिलाई धनगढीमा रोजगारीको अवसर रहेको बताए । उनले धनगढीमा श्रम बजार अपुग भए थप श्रम बजारको खोजी गर्न सकिने बताए । उनले रोजगारी सिर्जनाका लागि प्रदेशका सबै स्थानीय तहहरुले धनगढी उपमहानगरपालिकासंग साझेदारी गर्न आग्रह गरे । 

धनगढीकी नगर उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेला उपमहानगरको गौरवको योजना रहेको बताइन् । उनले गतवर्ष तालीम लिएर उत्पादन भएका जनशक्ति मध्ये ५० प्रतिशत रोजगार स्थापित भएको दावी गरिन् ।

गत वर्ष ३९ स्थानीय तहबाट एक हजार ४० जना युवाले विभिन्न २९ विधाको एक महिने तालिम लिएका थिए । तालिम पश्चात् उनीहरूको सीप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा परामर्श कार्याशाला आयोजना भएको थियो । २२६ जना रोजगारीमा संलग्न रहेको र १७२ जना स्वरोजगार भएको उपमहानगरपालिकाले जनाएको छ । मेलामा तालिम लिएका मध्ये २७ जनालाई थप तालिम र सीप विकासका लागि काठमाडौं र वुटबल पठाइएको रोजगार शाखा प्रमुख महराले बताए । 

प्रतिक्रिया