धनगढी । प्रतिनिधि सभा निर्वाचनका लागि आज कैलाली जिल्लाको ५ निर्वाचन क्षेत्रका लागि ५ ठाउँमा उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचन कार्यालय कैलालीले गत शुक्रबार जिल्लाको ५ ठाउँमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको हो । कैलाली क्षेत्र नं। ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनना भएको धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित स्वास्थ्य तालिम केन्द्रमा क्षेत्र नं. ५ को उम्मेदवारी दर्ता भइरहेको छ ।
यसैगरी, कैलाली क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको गोदावरी नगरपालिका वडा नं. १ स्थित कृषि तथा पशुपंक्षी सेवा केन्द्रमा क्षेत्र नं. ४ को उम्मेदवारी दर्ता भइरहेको छ । क्षेत्र नं. ३ को उम्मेदवारी दर्ता घोडाघोडी नगरपालिका वडा नं. १ स्थित घोडाघोडी बहुमुखी क्याम्पसको लाइब्रेरी भवनमा भइरहेको छ ।
यसैगरी, क्षेत्र नं. २ मा लम्कीचुहा नगरपालिकाको भल्कास्थित नयाँ भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताए । उनले क्षेत्र नं. १ मा टीकापुर नगरपालिका वडा नं. १ स्थित सिटी हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको बताए ।
प्रतिक्रिया