धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन थालेको छ । सुदूरपश्चिमका १२ क्षेत्रमा पनि कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।
बाजुरामा कांग्रेसले जनकराज गिरीलाई टिकट दिएको छ । उनी विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । गिरी पूर्वभूमिसुधार सहायक मन्त्रीसमेत हुन् ।
यस्तै अछाम-१ मा पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र २ मा पार्टीका जिल्ला सभापति पुष्पबहादुर शाहले टिकट पाएका छन् । स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए । शाह भने शेरबहादुर देउवाको पक्षमै थिए ।
यस्तै डोटीमा भने कांग्रेसले भरतबहादुर खड्कालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनले विशेष महाधिवेशनका लागि सुदूरपश्चिममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । खड्का २०७० सालमा समानुपातिक सांसद हुन् भने २०७४ सालमा डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
उता बैतडीमा भने कांग्रेसले जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । उनी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष पनि हुन् ।
दार्चुलामा कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जोशी संयुक्त राष्ट्रसंघबाट राजीनामा दिएर निर्वाचन लड्न आएको बताइएको छ । यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले नाम सिफारिस गरेको थियो । उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
यस्तै कंचनपुर क्षेत्र नम्बर १ बाट गाेपीप्रसाद उपाध्यायलाई टिकट दिइएको छ ।
काङ्ग्रेसले कैलालीका पाँच वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा बिजय स्वार र ३ मा भिम बडुवालले टिकट पाएका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा प्रदेश सभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । क्षेत्र नम्बर ५ मा नरनारायण शाह मनुले टिकट पाएका छन् । उक्त क्षेत्रबाट आरजु राणा देउवा चुनाव लड्ने चर्चा थियो । तर, उनले टिकट पाइनन् ।
प्रतिक्रिया