ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा घुससहित पक्राउ परेका वरिष्ठ वन अधिकृत दोषी ठहर, बिगो, जरिवाना तथा अन्य सजाय ताेकिने

बुधबार २७, फागुन २०८२ ०४:३०

काठमाडौँ । विशेष अदालतले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

मंगलबार अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्टको अध्यक्षतामा तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित संयुक्त इजलासले सेवाग्राहीसँग घुस लिएको अभियोगमा यादवलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै गत भदौ २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमर्का तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई गत साउन ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

पक्राउपछि उनलाई प्रारम्भिक अनुसन्धानका लागि कञ्चनपुरस्थित अख्तियारको हिरासतमा राखिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि केही दिन काठमाडौंस्थित अख्तियारको हिरासतमा राखेर बयान तथा प्रमाण संकलन गरिएको थियो।

अनुसन्धानपछि पर्याप्त प्रमाण फेला परेपछि आयोगले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। अदालतको फैसलाअनुसार अब उनलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार बिगो, जरिवाना तथा अन्य सजाय तोकिनेछ।

यही मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा कैलालीको चुरे गाउँपालिका–६ का प्रेमसिंह ठगुन्ना र गोदावरी नगरपालिका–२ का किसनसिंह साउदलाई पनि अदालतले दोषी ठहर गरेको छ। वन अधिकृतलाई जोगाउने उद्देश्यले अदालतमा फरक बयान दिएको भन्दै आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको थियो।

प्रतिक्रिया