ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यस वर्ष मलखादको अभाव हुँदैनः कृषिमन्त्री डा. परियार

बुधबार २७, फागुन २०८२ ०४:२४

टीकापुर । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएका छन् । 

कैलालीको जानकी गाउँपालिका वडा नं. ४ कञ्चनपु्रमा बुधबार चारपांग्रे मेसिनद्वारा धान रोपाइँको उद्घाटन गर्दै मन्त्री उनले यसवर्ष पर्याप्त मलखादको आपूर्तिको व्यवस्था मिलाइसकेको बताएका हुन् । ‘मलखादको अभाव हुन नदिन सरकारले समयमै २९ अर्ब रुपियाँ अनुदान निकासा गरिसकेको छ,’ मन्त्री डा. परियारले भने, ‘अन्तर्राष्ट्रिय परिवेशले असर नपारे यस वर्ष मलको अभाव हुँदैन, साथै प्राङ्गारिक मलको प्रयोगका लागि पनि तयारी अवस्थामा रहौँ ।’

उनले मेसिनको प्रयोगले श्रमशक्ति र लागत घटाउने भएकाले कृषि यान्त्रिकीकरणले यस क्षेत्रलाई नयाँ दिशा दिने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कैलालीको आयोजनामा कञ्चनपुर गाउँमा मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रम गरिएको थियो । एकाइले कैलालीमा पहिलो पटक चैते धान रोपाइँका लागि मेसिन भित्र्याएको हो । यहाँस्थित बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिनबाट चैते धान लगाइएको छ ।

परियोजना कार्यान्वयन एकाइ कैलालीका कृषि अधिकृत भीष्मराज रेग्मीले यस पटक बर्दियामा रहेको मेसिनबाट धान रोपाइँ गरिएको र सहकारीलाई १६ लाख ५० हजार रुपियाँ मूल्य पर्ने मेसिन खरिद गरेर दिने तयारी भइरहेको जनाए । 

धान रोपाइँ तथा अन्तरनिकाय अनुगमन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख टीकाकुमारी भुल, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलगायतका जनप्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया