बझाङ । बुङगल नगरपालिका वडा नम्बर ६ का बहालवाला वडा अध्यक्ष राम देवार र वडा नम्बर ८ का बहालवाला वडा अध्यक्ष लोकेन्द्र बहादुर जार्गी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उहाँहरूसँगै बुङगल नगरपालिकाका विभिन्न वडाबाट ५०० भन्दा बढी युवाहरूले पनि रास्वपाको सदस्यता लिएका छन्। एक कार्यक्रमका बीच रास्वपाका केन्द्रीय तथा जिल्ला नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै नवप्रवेशी वडा अध्यक्षहरू देवार र जार्गीले परम्परागत राजनीतिक प्रवृत्तिबाट दिक्क भएका जनताले अब वैकल्पिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको एजेन्डाका कारण रास्वपामा आबद्ध भएको बताए।
यसैबीच, आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बझाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सफल युवा उद्यमी शैलेस सिंह उम्मेदवार रहेको विषयले स्थानीय राजनीतिमा थप चासो बढाएको छ। युवा, उद्यमशीलता र परिवर्तनको एजेन्डा बोकेर अघि बढेका सिंहको उम्मेदवारीले युवापंक्तिमा नयाँ उत्साह थपिएको रास्वपाको दाबी छ।
रास्वपाका नेताहरूले स्थानीय तहका बहालवाला जनप्रतिनिधि र ठूलो संख्यामा युवाहरूको पार्टी प्रवेशले संगठन थप मजबुत बनेको उल्लेख गर्दै बझाङमा वैकल्पिक राजनीतिको आधार अझ सुदृढ हुँदै गएको बताएका छन्।
स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई आगामी निर्वाचनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया