ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सन्ततीको भविष्यका लागि मत परिवर्तन जरुरी छ: चन्द

शुक्रबार १६, माघ २०८२ ०३:५०

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले आफूले अहिलेसम्म देशविदेशमा हासिल गरेको ज्ञान र अनुभव धनगढीको विकासमा लगाउन यो क्षेत्रबाट उम्मेदवार बनेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–८, मा मोतिचोकमा आज रास्वपाको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख गोपाल हमालको अग्रसरताले पछिल्लो तीन वर्षमै धनगढीको मुहार फेरिएको बताए । 

‘हामीले देखिरहेका छौँ धनगढीको विकास ३५ वर्षसम्म भएन तर उद्यमशीलताबाट एउटा अनुभवी मान्छे मेयरमा आउनु भयो गोपी हमाल । उहाँले धनगढीको मुहार तीन वर्षमै फेर्नु भयो र हामी धनगढीबासी हौँ भन्ने गौरव फिल गर्न पायौँ’ चन्दले भने, ‘धनगढीको विकासलाई अझ केही मलजल गर्न सक्छु र गोपी हमालजस्ता सामाजिक अगुवाका योजनालाई म पनि टेवा पुर्याउन सक्छु भन्ने हिसाबले यो क्षेत्रबाट उम्मेदवार बनेको हुँ ।’

उनले धनगढीको विकासका लागि केही गर्न सक्छु भन्ने अठोट र आत्मविश्वासका साथ आफू चुनावी प्रतिस्पर्धामा आएको बताए । ‘मसँग पनि केही क्षमता छ, देशविदेशमा पढेको छु । त्यो सीप म र आत्मविश्वास सँग छ’ चन्दले भने, ‘मैले थप योगदान गर्नसक्छु भनेर म आफ्नै गाउँठाउँमा आएको हुँ ।’ 

सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटामा विश्वविद्यालय सञ्चालन गरेर यो क्षेत्रलाई स्वास्थ्य र शिक्षाको ‘हब’ बनाउन सकिने उनको भनाइ छ । सेती र गेटाको विषयसँगै फाप्ला रंगशाला निर्माणको विषयमा आफूले रास्वपाका नेता बालेन शाहसँग छलफल गरेको चन्दले बताए ।

आफ्ना सन्ततीको भविष्यका लागि पनि यस पटक निर्वाचनमा मत परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । स्वदेशमै उद्यमशीलता विकास गरेर युवाहरु विदेश जाने क्रम रोक्नु र शिक्षामा क्रान्ति ल्याउनु अहिलेको आवश्यकता भएको चन्दले बताए ।

‘देशमा भ्रष्टाचार, कुशासनका कुराहरु हामी सबै गरिरहेका छौँ तर देशमा कस्तो नीति ल्याएर भ्रष्टाचार रोक्न सकिन्छ र देशमा युवाहरुलाई देशमै राख्न सकिन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले घनीभूतरुपमा काम गरिरहेको छ’ उनले भने, ‘यी विषयलाई कसरी अगाडि बढाउने भनेर हामो घोषणापत्र पनि आउँदैछ ।’ 

स्थानीय ज्येष्ठ नागरिक नारायण उपाध्यायले रास्वपाको वडा सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा रास्वपाका नेताहरु तुलाराम खनाल, भीम बोहरा, तारा खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया