धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिमका चार जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ । विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखिएको छ । सोहीअनुसार ती चार जिल्लाका मतदानस्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेशको चुनाव केन्द्रीत सुरक्षा अवस्थाको विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठ नेतृत्वको विशेष टोली धनगढी पुगेको छ । प्रहरी प्रधान कार्यालयले श्रेष्ठको नेतृत्वमा पठाएको टोली आइतबार धनगढी पुगेको हो । उक्त टोलीले प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै जनशक्ति परिचालन लगायतका विषयमा अध्ययन गर्नेछ ।
प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गर्ने तयारी छ । सात हजार ५८ जना प्रहरी, १३ हजार ६६९ जना निर्वाचन प्रहरी र एक हजार ५१९ सशस्त्र प्रहरीतर्फ निर्वाचन प्रहरी खटाइने बताइएको छ ।
सुदूरपश्चिममा एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल छन् । यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा पाँच जना, संवेदनशीलमा छ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।
प्रतिक्रिया