ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीबाट ह्याट्रिक गरेका दामोदरलाई रोक्न चतुर मैदानमा, नेकपा र रास्वपालाई कति सहज ?

आइतबार १८, माघ २०८२ ०४:०२

धनगढी । बैतडीबाट प्रतिनिधिसभामा ह्याट्रिक गरिसकेका छन्, एमाले नेता दामोदर भण्डारीले । ०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै भण्डारीले लगातार तेश्रो जीत हासिल गरेका थिए । उनी लगातार चौथो जित निकाल्ने लक्ष्यसहित अहिले चुनावी मैदानमा उत्रिएका छन् । 
उनलाई रोक्न कांग्रेसका चतरबहादुर चन्द पनि चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टीबाट एमाले पृष्ठभूमिका परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस पृष्ठभूमिका हरिमोहन भण्डारी उम्मेदवार छन् । जसका कारण कांग्रेस र एमालेका उम्मेदवरलाई आफ्नै पूर्वसहकर्मीबाट जोखिम पनि देखिएको छ । 

द्वय भण्डारी, चन्द र भट्टसंगै २१ फागुनको निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कतिपय उम्मेदवार विरासत जोगाउने कसरतमा छन् त कतिपय विरासत भत्काउने दाउमा छन् ।

गत निर्वाचनमा ३३ हजार ६ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले नेता भण्डारी चौथोपल्ट प्रतिस्पर्धामा उत्रिएका हुन् । भण्डारीले २०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन् ।

उनी गत भदौ २३ को जेनजी आन्दोलनका बेला पनि उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री थिए । उनी विकास र समृद्धिका लक्ष्य पूरा गर्न स्पष्ट नीतिहरु लिएको भन्दै भोट मागिरहेका छन् । 
कांग्रेसले उम्मेदवार चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष पनि हुन् । चन्द र भण्डारीबीच पहिलोपल्ट चुनावी प्रतिस्पर्धा भइरहेको छ । दुई कार्यकाल क्यानको नेतृत्वमा रहेका चन्द शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । २०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेका चन्द शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै कांग्रेस बैतडीका सभापति भएका हुन् । जिल्लाको समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको उनको तर्क छ । एकपटक बैतडीबासीले मौका दिए जनहितका लागि काम गर्ने उनको दाबी छ । 

त्यस्तै नपाली कम्युनिस्ट पार्टी (नेकपा)ले परमानन्द भट्टलाई पहिलोपल्ट उम्मेदवार बनाएको छ । उनी तत्कालीन एकीकृत समाजवादीबाट आएका हुन् । भट्ट एमाले बैतडीका संस्थापक हुन् । उनी एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीतिमा थिए । अहिलेको निर्वाचनमा उनै भट्ट भण्डारीको विरासत तोड्न प्रतिस्पर्धामा उत्रेका छन् । समग्र बैतडीको विकास निर्माणका लागि र जिल्लामा सुशासन कायम गर्न आफुले उम्मेदवारी दिएको भट्टको दाबी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस परित्याग गरेका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी दुई पटक प्रदेशसभा सदस्यमा पराजित भइसकेका छन् । नयाँ भिजन लिएर जिल्लाको समग्र विकासका लागि नयाँ शक्तिको रुपमा आफुले उम्मेदवारी दिएको भण्डारीको तर्क छ । बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन पनि बलियो मानिन्छ । त्यहाँ  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द पनि चुनावी मैदानमा छन् । 

प्रतिक्रिया