ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडी दुर्घटना : उकालोमा मोड नपुगेर ब्याक गर्दा भिरालोमा खस्यो बस

शुक्रबार २३, माघ २०८२ १२:१८

धनगढी । बिहीबार राति बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्‍यो । पुर्चाैडी नगरपालिका- ७ को भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार राति पवनदुत यतायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

३४ जना घाइते छन् । घाइतेमध्ये पाँच जना गम्भीरको धनगढीमा उपचार भइरहेको छ भने २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यस्तै चार जना सामान्य घाइतेको भने बझाङको देउलेक स्वास्थ्य चौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बैतडी-बझाङ रोडको ढोल्यामोडदेखि पुर्चौडी गाउँपालिका जोड्ने भित्री सडकमा भएको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । `उकालोमा रहेको मोडमा मोड नपुगेपछि चालकले ब्याक गरेका रहेछन्,´ सिडिओ थापाले भने, `ब्याक गर्दा ब्रेक नलागेपछि बस भिरालोमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।´

बिहीबार बेलुका ७:५५ बजे बस दुर्घटनाको खबर प्रहरीले पाएको थियो । दुर्घटनाको चार घण्टापछि मात्रै घाइतेलाई अस्पताल पुगाउन सकिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापा आवश्यकता परे अब हेलिकप्टरबाट घाइतेलाई उपचारका लागि अन्यत्र पठाइने बताउँछन् ।

प्रहरीका अनुसार बिहीबार भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य ७ जनाको उपचारका क्रममा र अस्पताल लैजाने क्रममा ज्यान गएको थियो ।

यी हुन् १३ मृतक
दुर्घटनामा बझाङको बित्थडचीर गाउँपालिका-७ का बिसनदत्त जोशी, सोही ठाउका २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी-७ का १४ वर्षका सुशील जोशी र बझाङको केदारस्यूका २६ वर्षका केशवराज भट्टको मृत्यु भएको छ । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका- ७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चाैडी नगरपालिका- ७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको छ ।
जन्तीको बोकेको बसमा दुलहा र दुलही दुबै पक्षका थिए । दुलहा र दुलही भने अर्को गाडीमा सवार थिए । 

प्रतिक्रिया