ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चुनावमा भोट माग्ने अस्पताल, आरजु र नारदमुनिका ती ‘फर्जी निर्णय र बाचा’

बिहिबार २२, माघ २०८२ १०:५६

धनगढी । २१ मंसिर २०७४ मा हुँदै थियो, प्रतिनिधिसभा निर्वाचन । चुनावको मुखमै ९ मंसिरमा नेपाल चिकित्सक संघ सुदूरपश्चिमले सेती अस्पतालमा एउटा कार्यक्रम राख्यो । कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारलाई बोलाइयो । उक्त कार्यक्रममा कांग्रेस उम्मेदवार आरजु राणाले भनेकी थिइन्, ‘मैले व्यक्तिगत पहलमा मन्त्रिपरिषद्बाट सेती अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गराउने निर्णय गराएकी छु ।’ त्यसबेला प्रधानमन्त्री थिए, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा । प्रधानमन्त्री पत्नीले स्तरोन्नतिको निर्णय नै भयो भनेर प्रचार गरेपछि धेरैले मन्त्रिपरिषद्ले निर्णय गरेकै होला भन्ने आशा गरे । 

राणाले तीन सय शय्याको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले एक कदम अगाडि बढेर अर्को घोषणा गरे । ‘मेरो जित भएपछि सेती अस्पताललाई पाँच सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउँछु,’ सोही कार्यक्रममा रानाले टेबल ठोक्दै भनेका थिए । 

०७४ सालको निर्वाचन अवधिभर रानाले सेती अस्पताललाई पाँच सय शय्याको बनाउने र राणाले आफ्नै पहलमा तीन सय शय्यामा स्तरोन्नति भइसकेको दाबी गर्दै भोट मागे । २१ मंसिरमा मतदान भयो, बाम गठबन्धनका उम्मेदवार राना विजयी भए । ०७४ सालको निर्वाचनपछि ०७९ सालमा निर्वाचन भएर २१ फागुनको निर्वाचन आउन महिना दिन मात्रै बाँकी छ । तर, यो ८ वर्षमा न आरजुले भनेको तीन सय शय्यामा स्तरोन्नति भएको निर्णय सेती अस्पतालले पायो न त चुनाव जितेर गएका रानाले नै पाँच सय शय्यामा अस्पतालको स्तरोन्नति गरे । सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल अहिले पनि सरकारी स्वीकृतिअनुसार ५० शय्यामै सञ्चालन भइरहेको छ । 

०७५ सालको अन्त्यतिर स्वास्थ्य विभागले डडेल्धुरा अस्पतालबाहेक सुदूरपश्चिमका सबै अस्पताललाई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको थियो । प्रदेश सरकारको मातहतमा आएपछि नाम फेरिएर सेती प्रादेशिक अस्पताल बनाइएको छ । तर, ४२ वर्षदेखि अस्पतालको स्तरोन्नति भने हुन सकेको छैन । १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो । अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल विकास समितिमार्फत थप ७५ शय्या भने सञ्चालन गरिएको छ । बिरामीको चाप बढ्दै गएको अवस्थामा शय्या अभावले समस्या बढ्दै गएको छ । सोही कारण केही दिनअघि अस्पताल प्रशासनले सूचना प्रकाशन गरी मृगौलाका नयाँ बिरामीलाई सेवा दिन नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्यधिक चाप, स्रोतसाधन र ठाउँको अभावले नयाँ बिरामीलाई डायलाइसिस सेवा दिन नसक्ने अवस्था आएको बताए ।

०७४ सालकै सेती अस्पताल स्तरोन्नतिको चुनावी एजेण्डा पूरा नभएको अवस्थामा आसन्न निर्वाचनमा पनि कैलाली– ५ का उम्मेदवारले सोही एजेण्डा अघि सार्दै भोट मागिरहेका छन् । सेती अस्पताललाई चुनावी एजेण्डा बनाउनेमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले अगाडि छन् । सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरेरै छाड्ने उनको दाबी छ । नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले पनि मंगलबार प्रतिबद्धता सार्वजनिक गर्दा सेती अस्पताल स्तरोन्नतिको योजना पनि समावेश गरेका छन् । ‘सेती प्रादेशिक अस्पतालको स्तरोन्नति लगायतका राष्ट्रिय महत्वका आयोजनाहरुको कार्यान्वयनको लागि प्रतिनिधिसभामा यस प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको ककस बनाएर जोडदार आवाज उठाउनेछु,’ शाहले भने । 

प्रतिक्रिया