ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा चार ‘ठूला दल’को आ–आफ्नै ठोकुवा, नौदेखि सोह्रै सीट जित्ने दाबी

बुधबार २१, माघ २०८२ ०५:१२

धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । दलहरु उम्मेदवारी दर्तापछि घरदैलोमा व्यस्त छन् । उम्मेदवारले आ–आफ्ना चुनावी एजेण्डा राख्दै मतदाता रिझाउन थालेका छन् । 

२१ फागुनमा सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा सीटका लागि चुनाव हुँदै छ । ०७९ सालको निर्वाचनमा १६ मध्ये आधा अर्थात् आठ सीटमा नेपाली कांग्रेस विजयी भएको थियो । उसले कैलाली ४ र ५, कञ्चनपुर २ र ३, डडेल्धुरा, दार्चुला, अछाम– २ र बाजुरामा जित निकालेको थियो । 

कांग्रेसपछि सबैभन्दा बढी सीट नागरिक उन्मुक्ति पार्टी र तत्कालीन एकीकृत समाजवादी पार्टीले जितेका थिए । नागरिक उन्मुक्तिले कैलाली १, २ र ३ नम्बर क्षेत्रमा जित निकालेको थियो भने एकीकृत समाजवादी बझाङ, डोटी र अछाम– १ मा जित्न सफल थियो । एमाले भने ०७९ सालको निर्वाचनमा दुई सीटमा खुम्चिएको थियो । बैतडी र कञ्चनपुर– १ का एमाले उम्मेदवार मात्रै विजयी भएका थिए । कांग्रेस र एकीकृत समाजवादीसंग गठबन्धन गर्दा पनि तत्कालीन माओवादी केन्द्रले भने प्रदेशभा एउटा सीट पनि जित्न सकेको थिएन । राष्ट्रीय स्वतन्त्र पार्टीले पनि सुदूरपश्चिममा खाता खोल्न सकेको थिएन । 

२१ फागुनको आसन्न निर्वाचनमा भने ठूला भनिएका चार दलहरुले नौदेखि सोह्रै सीट जित्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा प्रदेशका आधा सीटमा जित निकालेको कांग्रेसले अहिले १० सीट पु¥याउने नेताहरूको दाबी छ । कांग्रेसले कैलालीमा क्षेत्र नम्बर १, २, ३ र ५ विजयी हुने दाबी गरेको छ । कञ्चनपुरको क्षेत्र नम्बर २ मा पनि कांग्रेसले जित्ने दाबी गरेको छ । यस्तै, डोटी, डडेल्धुरा, बाजुरा र बैतडीमा पनि कांग्रेसले जित्ने दाबी गरेको छ । अछामका दुई क्षेत्रमध्ये एक क्षेत्रमा पार्टीको जित सुनिश्चित रहेको कांग्रेस नेतारुको दाबी छ ।

एमालेले यसपटकको निर्वाचनमा १२ सीट जित्ने दाबी गरेको छ । कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका १६ मध्ये १२ सीट जित्ने दाबी गरेका हुन् । ‘विगतमा पार्टीभित्रको कमजोरीले असर ग¥यो, तर अहिले हामी एकजुट छौँ । सुदूरपश्चिममा एमालेको लहर देखिन्छ,’ निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय उद्घाटन गर्दै भट्टले भनेका थिए, ‘यसपटक हामी १२ क्षेत्रमा जित हासिल गर्छौँ ।’ कैलालीका चार, कञ्चनपुरका तीन, अछामको एक क्षेत्र तथा बाजुरा, दार्चुला, बैतडी र बझाङमा एमाले उम्मेदवार विजयी हुने दाबी गरिएको छ । 

यस्तै माओवदी केन्द्र र एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले नौ सीट जित्ने दाबी गरेको छ । उसले कैलालीका तीन, कञ्चनपुरका दुई तथा डोटी, डडेल्धुरा, अछाम–१ र बाजुरामा जित निकाल्ने दाबी गरेको छ । यसबाहेक अन्य क्षेत्रमा जित्न सकिने नेपाली कम्युनिस्ट पार्टीका नेताहरुको दाबी छ । 

अघिल्लो निर्वाचनमा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा रास्वपाको उपस्थिति कमजोर थियो । यसपटक भने रास्वपा नेताहरु प्रदेशका सबै सीट जित्ने दाबी गर्छन् । रास्वपाको अहिले देशभर लहर बढेकोले १६ वटै सीटमा जित निकाल्न सकिने आकलन रास्वपा नेताहरुको छ । 

प्रतिक्रिया