ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको निर्वाचनमा कहाँ-कहाँ छ हिमपातको जोखिम ?

शनिबार २४, माघ २०८२ ०९:३१

धनगढी । आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सुदूरपश्चिमका ४६ वटा मतदानस्थललाई हिमपातको जोखिम सूचिमा राखिएको छ । बाजुराका २२, डडेल्धुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचिमा राखिएको छ । 

दार्चुलामा टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए पनि यस अवधिमा ती मतदानस्थलका मतदाताहरु सदरमुकाम खलंगा बसाई सर्ने भएकाले खलंगामै मतदानस्थल निर्धारण गरिएको छ । 

बाजुरामा हिमाली गाउँपालिकामा पाँच वटा, स्वामीकार्तिक गाउँपालिकामा ६ वटा, जगन्नाथ गाउँपालिकामा एउटा, गौमुल गाउँपालिकामा तीन वटा, खप्तडछेडेदह गाउँपालिकामा तीन वटा, त्रिबेणी नगरपालिकामा दुई वटा र बुढीनन्दा नगरपालिकामा दुई वटा मतदानस्थल हिमपातको जोखिममा रहेका मतदान स्थल भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।  

बझाङमा साइपाल गाउँपालिकाका पाँच वटै मतदानस्थल हिमपातको जोखिमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धलौन मावि १ र २, काँडा, धुली र एडाडकुडी डाँडा मतदानस्थलमा हिमपातको जोखिममा रहेका छन् ।

डडेल्धुरामा १९ वटा मतदानस्थलहरु हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अजयमेरु गाउँपालिकामा ४, अमरगढी नगरपालिकामा ३, आलीताल गाउँपालिकामा ३, गन्यापधुराका ४, नवदुर्गा गाउपालिकाको एक र भागेश्वर गाउपालिकाका चार वटा मतदानस्थलहरुलाई हिमपातको जोखिमको सूचीमा राखिएको छ ।  

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले दार्चुलाको समस्या समाधान भइसकेको बताए । ‘अन्य जिल्लाले हिमपातको जोखिममा राखेका मतदानस्थलको हकमा जिल्ला सुरक्षा समितिले गर्ने निर्णय अनुसार निर्वाचन आयोगले विकल्प दिनेछ,’ प्रदेश निर्वाचन कार्यालय प्रमुख भट्टले भने । 

प्रतिक्रिया