ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पश्चिम सेती आयोजना : चुनावी एजेण्डामै सीमित

बुधबार ०६, फागुन २०८२ ११:४४

धनगढी । २०३९ सालबाट निर्माणको चर्चा सुरु भएको पश्चिम सेती जलासययुक्त जलविद्युत परियोजना निर्माण बनाउने सपना पटकपटक चुनावी एजेण्डा बन्यो । यो ४३ वर्षमा कैयौं पटक उक्त आयोजना बनाएर सुदूरपश्चिम प्रदेशमा रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धि ल्याउने सपना देखाइयो । पटकपटक ती सपनाहरु टुट्दै गए ।

पञ्चायतकालदेखि अध्ययन भइरहेको उक्त परियोजनाको अध्ययन मुलुकको शासन व्यवस्था कैयौं पटक फेरिए पनि पुरा हुन सकेको छैन । २०७४ र २०७९ को प्रनिधिनिसभा, प्रदेशसभा र स्थानीय तहहको निर्वाचनमा पनि पश्चिम सेती बनाउन पहल गर्ने प्रतिबद्धता दलका उम्मेदवारहरुले जनाएका थिए । चुनाव जितिसकेपछि सदनमा उक्त परियोजना अगाडि बढाउन कमैले बोले । न त स्थानीय तहका जनप्रतिनिधि न त प्रदेश सभाका सदस्यले पश्चिम सेती निर्माणका लागि पहल गरे । पश्चिम सेतीको अध्ययन आफ्नै गतिमा अघि बढिरह्यो ।

पछिल्लो समयमा भारतको नेशनल हाइड्रो पावर कम्पनी (एनएचपिसि) ले पश्चिम सेती र त्यससंगै सेती नदी ६ (एसआर–६) परियोजना समेत बनाउने गरी सम्भाव्यता अध्ययन गरिरहेको छ । जलाशययुक्त पश्चिम सेती परियोजनाको क्षमता ७५० मेगावाट र एसआर–६ को क्षमता ४५० मेगावाट छ । यि दुबै परियोजनालाई एकसाथ निर्माण गर्ने योजना सहित लगानी बोर्ड नेपालले लगानी जुटाइरहेको छ । तर राजनीतिक अस्थिरताको कारण पटक पटक हुने सरकार परिवर्तन र राजनीतिक खिचातानीको सरकारको तर्फबाट गर्नुपर्ने निर्णयहरु हुन नसक्दा सुस्त गतिमा छ ।

पछिल्लो पटक एनएचपिसिले वित्तीय रुपमा सम्भाव्य नदेखिएको र निःशुल्क विजुली पनि दिनुपर्ने भन्दै लगानी बोर्डसंग सम्भाव्यता न्यून परिपूरक कोषमा ४० रुपैयाँ माग गरेको थियो । उक्त विषयमा नेपाल सरकारले निर्णय गर्न नसक्दा अध्ययन प्रभावित भएको छ । 

यही बेला फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा पश्चिम सेती निर्माणका लागि पहल गर्ने उल्लेख गरेका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ का उम्मेदवार नरनारायण शाहले पश्चिम सेती, पञ्चेश्वर जलविद्युत जस्ता आयोजना कार्यान्वयनको लागि प्रतिनिधि सभामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्हरुको ककस बनाएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । उनले प्रदेशका जलविद्युतको विकासका लागि २२० केभि प्रशारणलाईन निर्माणका लागि समेत आफूले पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

उसो त २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट उम्मेदवार भई विजयी भएका कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर र कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित कांग्रेका दिल्लीराज पन्तले पनि पश्चिम सेती बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघि, डोटीबाट चुनाव लड्दै आएका बलायरले त्यतिबेला पनि पश्चिम सेती बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए ।

पश्चिम सेती बनाउने विषयमा मौखिक प्रतिबद्धता जनाउँदै आएका नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले पनि डोटीबाट चुनाव लड्दा पश्चिमसेती निर्माण गर्ने सपना बाँडी लगातार तीन पटक विजयी भएका थिए । उनले यसपाली कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका छन् । प्रतिबद्धता पत्रमा उक्त परियोजना नसमेटेपनि विभिन्न ठाउँमा गर्ने भाषणमा पश्चिम सेती बनाउन पहल गर्ने बताउँदै आएका छन् ।

पश्चिम सेती डोटी जिल्लाको शिखरनगरपालिकामा बन्ने भएको हुँदा डोटीबाट उम्मेद्वार बन्ने नेताहरुले पश्चिम सेती आयोजना बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् । दोस्रो संविधान सभाको निर्वाचत २०७० देखि लगातार जितेका आलेले डोटी छोडेपछि यसपाली डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले पुरानो विरासत फर्काउने दाउमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेश संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आले स्थान लिने दवावमा छन् । उनीहरुलाई नेकपा एमालेका दीपबहादुर धामी र रास्वपाका नरेन्द्रबहादुर खड्काले बलियो दावेदारी प्रस्तुत गरिरहेका छन् । यि चारै जना उम्मेदवारहरुले अहिलेसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
 

प्रतिक्रिया