धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाई बहुमतसहित प्रतिनिधि सभा सदस्यको निर्वाचन जितिरहेको बेला अछाम क्षेत्र नं. १ मा उक्त पार्टीका उम्मेदवारको धरौटी नै जफत भएको छ ।
उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनको धरौटी जफत भएको हो । अछाम क्षेत्र नं. १ मा ३० हजार ३४८ मत सदर भएको थियो । उक्त क्षेत्रमा धरौटी जोगाउन तीन हजार ३९ मत आवश्यक भएपनि रास्वपाका रावलले एक हजार ७३९ मत मात्रै प्राप्त गर्न सके ।
आठ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा रावलसहित पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । उनीसंगै राप्रपाका लोकेन्द्रबहादुर शाह, नेकपा माओवादीका लोकेन्द्रबहाद्ुर शाही, स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर र नेमकिपाका सुरेन्द्र शाहीको धरौटी जफत भएको हो ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका भरतकुमार स्वारले १० हजार ७५९ मत प्राप्त गरी वियजी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्प्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले १० हजार २३३ मत पाई ५२६ मतको अन्तरले पराजित भए । एमालेका दिपकबहादुर साउँदले सात हजार ३८९ मत पाई तेस्रो भए ।
प्रतिक्रिया