धनगढी । सुदूरपश्चिमका पाँच मन्त्रालयसहित मातहतका कार्यालयको वेबसाइट डाउन भएको पाँच महिना पुगेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वेबसाइट साउन अन्तिम सातादेखि डाउन छन् ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट पनि सँगै डाउन भएको थियो । तर, अहिले उक्त वेबसाइट चलिरहेको छ । यस्तै, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश नीति तथा योजना आयोगको कार्यालयको वेबसाइट पनि चलिरहेको छैन ।
वेबसाइट डाउन भएका मन्त्रालय र कार्यालयको नाम गुगलमा सर्च गर्दा पनि भेटिरहेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीका अनुसार वेबसाइटमा समस्या आएको र सञ्चालनका लागि आग्रह गरिएको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राललयमा प्रदेश तथा स्थानीय तह सहयोग शासन भन्ने एउटा युनिट छ,’ सूचना अधिकारी जोशीले भने, ‘त्यसले प्रदेश र स्थानीय तहहरूको सवलीकरणको कार्य गर्दै आएको छ । सुदूरपश्चिमका मन्त्रालयको वेबसाइट पनि उक्त युनिटले नै बनाएको हो । हामीले समस्या आएपछि खबर गरेका थियौँ । काम भइरहेको छ भन्ने जानकारी आएको छ ।’
प्रदेशमा सूचना प्रविधि अधिकारीको दरबन्दी नभएको हुँदा पनि वेबसाइट रिकभरमा समस्या भएको सूचना अधिकार जोशीको भनाइ छ । वेबसाइटमा सेक्युरिटी लक नराखिएको हुँदा बेलाबेला समस्या आउने गरेको छ । यसअघि पनि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको वेबसाइट ह्याक भएको थियो ।
पछिल्लो समयमा प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयले सूचना तथा प्रविधि विभागबाट नयाँ वेबसाइट बनाएका थिए । ती वेबसाइटमा सेक्युरिटी लक प्रयोग गरिएको छ । वेबसाइट डाउन भएको लामो समयसम्म सञ्चालनका लागि पर्याप्त प्रयास नगरेको आरोप प्रदेश सरकारलाई लागेको छ । वेबसाइट नचल्दा सामान्य जानकारीका लागि पनि मन्त्रालयमै पुग्नुपर्ने बाध्यता आएको प्रदेशबासीको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सय दिनको प्रगति सार्वजनिक गर्दै एक÷दुई दिनमै वेबसाइट सञ्चालनमा आउने दावी गरेका थिए । उनले उक्त दावी गरेको एक साता पुग्नै लाग्दा पनि वेबसाइट सञ्चालनमा आएका छैनन् ।
प्रतिक्रिया