ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रावललाई कारबाहीपछि सुदूरपश्चिममा एमालेभित्र असन्तुष्टि

बिहिबार ११, पुष २०८१ ०१:१६

धनगढी । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही भएपछि सुदूरपश्चिममा त्यसको विरोध भएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि रावलको गृहप्रदेश सुदूरपश्चिममा त्यसको विरोध भएको हो । धेरैले नेकपा एमालेले रावललाई नभई सुदूरपश्चिमलाई नै अन्याय गरेको सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन् । एमालेबाहेक अन्य दलका नेता–कार्यकर्ता पनि रावलको कारबाहीमा सहमत देखिएका छैनन् । 

रावललाई पार्टीले हटाएपछि उनी निकटका नेताहरु पनि खुलेरै विरोध गर्न थालेका छन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट रावलले भीम रावललाई गरिएको कारबाहीले पार्टीमा लोकतन्त्र कमजोर भएको बताए । ‘पार्टीले गर्नै नहुने निर्णय गरेकोले यो निकै दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘पार्टीले तत्काल उक्त निर्णय सच्याउन आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी पनि रावललाई गरिएको कारबाही पूर्ण रुपमा गलत भएको बताउँछन् । ‘पार्टीले भन्दा पनि केपी शर्मा ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही सोचका कारण सुदूरपश्चिमको राष्ट्रवादी नेतालाई कारबाही गरिएको छ,’ उनले भने, ‘त्यो असाध्यै खेदजनक छ ।’ 

नेकपा एमाले सुदूरपश्चिमका उपसचिव नरबहादुर बिकले पनि रावलमाथि गरिएको कारबाही गलत भएको बताए । ‘कमीकमजोरी सबैका होलान्,’ उनले भने, ‘तर, पार्टीको सदस्यबाट नै हटाउने पर्ने कारण थिएन । यो गलत निर्णय भएको छ ।’ 
सुदूरपश्चिम प्रदेशकै पूर्वमन्त्री तथा एमाले नेता प्रकाशबहादुर शाह पनि एमालेले रावललाई कारबाही गरेर गलत गरेको बताउँछन् । ‘यो निकै दुखद् निर्णय गरेको हो,’ उनले भने, ‘पार्टी एकतावद्ध भएर जानुपर्ने समयमा सहयोद्धालाई कारबाही भएको छ । यो नहुनुपर्ने निर्णय हो ।’
 

प्रतिक्रिया