ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तरकारी बेचेरै वार्षिक पाँच लाख आम्दानी

बिहिबार ११, पुष २०८१ ०१:५३

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । 

२० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक चारदेखिपाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । 

रानाले भने, “तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनुपरेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।” उनले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए । 

रानाका अनुसार बिक्री कम हुँदा दैनिक एक हजार पाँच सयसम्म र बढीमा दुई हजारसम्म आम्दानी भइरहेको छ । उनले भने, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नुहुँदैन भन्ने हो ।” मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ ।

सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए । आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक तीन लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । 

उनले भने, “तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म तरकारी बिक्री हुन्छ ।”

भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए । “स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नुपर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उनले भने । समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उनको भनाइ छ ।

पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् । रासस

प्रतिक्रिया