ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कटानबाट बस्ती जोगाउन तटबन्ध निर्माणको माग

सोमबार ०३, मङि्सर २०८१ ०८:३४

धनगढी । कान्द्रा नदीको कटानले घोडाघोडी नगरपालिका–११, को सिसैया गाउँ जोखिममा परेको छ । गत भदौ पहिलो साता अविरल वर्षासँगै आएको बाढीले तीव्र कटान गरेपछि नदी गाउँ नजिकै पुगेको छ । कटानले भवन जोखिममा परेपछि बालविकास कक्षा विस्थापित भइसकेको छ भने सामुदायिक भवन र करिब दुई दर्जन घर कटानको जोखिममा परेका छन् । आगामी बर्खाअघि तटबन्ध निर्माण हुन नसके बर्खामा नदीले बस्ती कटान गरेर लैजाला भन्ने चिन्तामा स्थानीय छन् ।

नदीले बर्खायाममा वर्षेनि कटान गर्दै आएकोमा गएको बर्खामा कटान तीव्र भएसँगै नदी बस्ती नजिकै पुगेको हो । तत्काल तटबन्ध निर्माण नभए आगामी बर्खामा बस्ती बग्ने जोखिम रहेको स्थानीय शंकर कठरियाले बताए । उनले खेत कटान गरेर नदी आफ्नो घर छेउमै आइपुगेको बताए । बर्खा सकिएसँगै यस वर्षको जोखिम हटे पनि अर्को वर्ष नदीले घर बगाउछ भन्ने चिन्तामा उनी छन् ।

कठरियाको साढे १२ कठ्ठा जमिनमध्ये दशकयता करिब १० कठ्ठा जमिन कान्द्रा नदीले कटान गरेको छ । ‘अब घरसहित दुई कठ्ठा जतिमात्र बचेको छ’ नदी नजिक पुगिसक्यो’ उनले भने, ‘अर्को बर्खा पनि यो वर्षजस्तै बाढी आए घर लैजान्छ ।’ नदी कटान गरेर घरबाट करिब २५–३० मिटर नजिक आइपुगेको कठरियाले बताए ।

नदीले कटान गरेपछि बालविकासको भवन नदीको डिलमा पुगेको छ । बालविकासमा जाने १८ जना बालबालिकालाई समायोजन भएर खाली रहेको दशरथ आधारभूत विद्यालयको भवनमा सारिएको छ । सामुदायिक भवन र स्थानीय पशुपति मन्दिर पनि जोखिममा छन् । कटान गरेर कान्द्रा नदी पहलमानपुर–लालबोझी जोड्ने सडक नजिक पुगेको छ । पिच हुने क्रममा रहेको सडकबाट नदी ७–८ मिटरको दुरीमा मात्र रहेकाले तटबन्धविना सडक पिच गर्नुको अर्थ नहुने स्थानीय बताउँछन् ।

स्थानीयबासिन्दा टीआर कठरिया समयमै तटबन्ध नबनाउने हो भने सिंगो गाउँ आउने बर्खा बगर बन्ने जोखिम रहेको बताउँछन् । ‘गाउँ पुरै जोखिममा छ, नदी बाटो नजिकै पुगेकाले यो बर्खाजस्तै बाढी आए आउने बर्खामा बाटो पनि बगाएर लैजान्छ’ उनले भने । पूर्वमा कान्द्रा नदी, पश्चिममा केही घर, बाटो र बाटोसँगै बस्ती जोडिएको छ । 

सिसैया गाउँका भल्मन्सा गयाप्रसाद कठरियाले तटबन्ध निर्माणका लागि जनप्रतिनिधि र विभिन्न निकायमा गएर हारगुहार गर्दा पनि आफूहरुको समस्या कसैले नबुझेको गुनासो गरे । ‘सांसद, मन्त्री, मुख्यमन्त्रीसम्मलाई भेट्यौँ तर तटबन्धन कसैले बनाइ दिएनन्’ कठरियाले भने, ‘कटानबाट घर कसरी जोगाउने भन्ने चिन्तामा छौँ ।’

उनले केही वर्षयता आफ्नो १० कठ्ठा जमिन नदीले कटान गरेर बगर बनाएको बताए । ‘कटान गरेर नदी घर छेउमै पुगेको छ’ उनले भने, ‘तटबन्धका लागि धेरै ठाउँ हारगुहार ग¥यौँ, प्रदेशका मन्त्रीले निरीक्षण गरे, मुख्यमन्त्रीलाई समेत भेट्यौँ तर तटबन्धका लागि यस वर्ष पनि बजेट आएन ।’ 

करिब पाँच मिटरको दुरी नजिक नदी आएकाले सामुदायिक भवन पनि बग्ने उच्च जोखिममा रहेको स्थानीले बताएका छन् । स्थानीयका अनुसार कान्द्रा नदीले केही वर्षयता खेतीयोग्य जमिनको ठूलो हिस्सा कटान गरेको छ । ‘खेतीयोग्य जमिन धेरै कटान भइसकेको छ । राम्रो तटबन्ध भएन भने ढिलोचाँडो नदीले गाउँनै बगाएर लग्छ’ भल्मन्सा कठरियाले भने, ‘हाम्रो मर्का सरकारले बुझिदिए हुन्थ्यो ।’ चुरेको फेदी भएर आउने कान्द्रा बर्खामा उर्लिन्छ ।
     
 

प्रतिक्रिया