ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सम्भावनाले भरिपूर्ण राजकाँडा, उत्ति नै छन् समस्या

शनिबार १३, पुष २०८१ ११:३४

धनगढी । सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । तर, अधिकांश पर्यटकीय क्षेत्र भने उपेक्षामा छन् । सडक लगायत पूर्वाधार नहुँदा ओझेलमा परेका पर्यटकीय गन्तव्यमध्येको एक हो, मोहन्याल गाउँपालिका–७ मा पर्ने राजकाँडा । 

चिसापानीबाट छ किलोमिटर ठाडो उकालो चढेपछि आउने राजकाँडाको प्रमुख समस्या नै चिप्लो र ठाडो बाटो हो । त्यहाँ शुद्ध पिउने पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयले बताउँछन् । चुरे क्षेत्रको सर्वाधिक उच्चो डाँडा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरैजसो पर्यटकीय क्षेत्र तथा स्थानको सजिलै अवलोकन गर्न सकिन्छ । राजकाँडाबाट भेरी र कर्णाली नदीको संगम, तराईमा कर्णालीको तीन भंगाला र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराईका फाँटहरु, भारतमा चलेको रेल र कर्णाली तथा सुदूरपश्चिमका हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । 

मौसम सफा भएको बेला अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णाली पुल पनि स्पष्ट रुपमा हेर्न सकिने स्थानीयको भनाई छ । राजकाँडाको सबैभन्दा अग्लो चुचुरोबाट विश्वकै सबैभन्दा पहिलो सुर्योदय र सुर्यास्त समेत देखिने गरेको स्थानीय उत्तर बिष्टले बताए । 

चिसापानीदेखि ठाडो कुमालो बाटो भए पनि जम्मा दुई घण्टामा उक्लिन सकिन्छ । तर राजकाँडामा उत्पादन भएका कृषि उपज तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजकाँडाबासीलाई । राजकाँडामा पर्यटकीय सम्भावना मात्रै छैन, त्यहाँको मौसम सधैं भरि हिउँद जस्तै हुने भएकाले वर्षभरि काउली, बन्दा, गोलभेडा, आलु, लगायतका हिउँदे तरकारी खेती गर्न सकिने बिष्टले बताए । तर बाटो नभएकाले उत्पादन भएका फलफूलले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए । राजकाँडाको सम्भाना उजागरका लागि प्राथमिकताका साथ बाटो बनाइदिन उनले माग गरे । उनले बाटोसंगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा पुगेका पर्यटकलाई होम स्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताए ।

लम्कीबजारबाट राजकाँडा हुँदै सुंगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो बन्दा बन्दै रोकिएको छ । सो बाटोको ट्रयाक राजकाँडासम्म खोलिएको छ । तर बीचमै गएको पहिरो र कटानले गर्दा सो मोटर बाटो बाह्रै्र महिना चल्न नसक्ने अवस्थामा छ । सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ । बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटोमा समेत झारहरु उम्रिसकेका छन् । स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि टे«किङ टे«ल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन् । खानेपानी र बाटोको व्यवस्थाका भए आफूहरुको सम्पूर्ण समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए । 

सात अर्बमा बन्दैछ केबलकार
सात अर्ब लगानीमा चिसापानीदेखि राजकाँडासम्म चल्ने केबलकार निर्माण थालिएको छ । त्यसको शनिबार शिलान्यासको कार्यक्रम छ । जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा पर्यटकीय पुर्वाधारहरु सहित सो केबलकार निर्माण थालिएको हो । गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका सञ्चालक सुर्यबहादुर थापाले बताए । 

उनले राइट अफ वेमा पर्ने रुख काट्ने र सरकारबाट कम्पनीको नाममा जमीन लिने काम सकिएको बताए । आयोजना स्थलका एक हजार आठ सय ६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमीन कम्पनीका नाममा सारिएको छ ।

चिसापनीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । केबलकार निर्माणसंगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गर्ने बताइएको छ । राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटल समेत निर्माण गरिने सञ्चालक थापाले बताए । 
 

प्रतिक्रिया