धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि छलफल भएको छ । संघर्ष समिति र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको हो ।
विश्वविद्यालयको विधेयक चाँडो पास गराउन दबाब दिने र प्रादेशिक अस्पताललाई गेटामा गाभ्ने लगायतका विषयमा छलफल भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले जानकारी दिए । उनले अहिले विश्वविद्यालयको विधेयक पास हुने बित्तिकै मेडिकल शिक्षाको अध्यापन सुरु गर्ने वातावरण तयार गर्नमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।
‘तीन सय शय्याको अस्पताल चलाउन समय लाग्ने भएकाले त्यो अवधिसम्म सेती र महाकालीलाई गेटा अस्पतालमा मर्ज गरेर पठनपाठन सुरु हुने वातावरण बनाउनुपर्ने देखिएको छ,’ छलफलमा पाण्डेले भने ।
छलफलमा मुख्यमन्त्री शाहले आगामी हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाबाट पास हुने अपेक्षा लिएको बताए । ‘आगामी शैक्षिक सत्रदेखि के कसरी पठनपाठन सुरु गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्यमन्त्री सहित, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवासंग पनि छलफल भएको छ,’ मुख्यमन्त्री शाहले भने ।
प्रतिक्रिया