धनगढी । सुदूरपश्चिममा पछिल्लो एक वर्षको अवधिमा दुई सय १४ जना एचआइभी संक्रमणका नयाँ बिरामी फेला परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभरि करिब एक लाख ११ हजार जनाको गरिएकोमा दुई सय १४ जना नयाँ संक्रमित फेला परेका प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
उक्त अवधिमा यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा ९९ र कञ्चनपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका एचआइभी फोकल पर्सन मनोज ओझाले जानकारी दिए । त्यस्तै अछाममा २७ र डोटीमा १५ जनामा संक्रमण देखिएको छ ।
नयाँ संक्रमण देखिएकामध्ये तीनजना गर्भवतीसहित ८० जना महिला रहेका ओझाले जानकारी दिए । उनका अनुसार संक्रमण देखिनेमध्ये धेरैजसो यौनकर्मी र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति रहेका छन् । निर्देशनालयका अनुसार यो अवधिमा ६४ जना संक्रमितको मृत्यु भएको छ ।
अघिल्लो आर्थिक वर्षमा प्रदेशभरि दुई सय २७ जनामा एचआइभी संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा संक्रमितको संख्या उच्च छ । कैलाली, अछाम, डोटीलगायत जिल्लाहरुमा तुलनात्मकरुपमा संक्रमितको संख्या बढी छ ।
निर्देशनालयको तथ्यांकअनुसार कैलालीको गोदावरी नगरपालिकामा दुई सय ९१ जना, धनगढी उपमहानगरमा दुई सय ४४ र लम्कीचुहा नगरपालिकामा एक सय ९४ जना संक्रमित छन् ।
सन् २०२३ को अन्त्यसम्ममा नेपालमा २८ हजार ४८१ जना एचआइभी संक्रमित रहेकोमा सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा तीन हजार ७२३ जना नियमित उपचारमा रहेका फोकल पर्सन ओझाले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक खगेन्द्र बमले सुदूरपश्चिममा एचआइभी संक्रमण दर घट्दो क्रममा रहेको बताए । उनले संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै गए पनि कतिपय ठाउँमा संक्रमितलाई समाजले अहिले पनि हेलाको दृष्टिले हेर्ने गरेको बताए । निर्देशनालयले संक्रमण दर न्यूनिकरण गर्न सचेतनामुकल कार्यक्रमसँगै परीक्षणलाई पनि जोड दिइरहेको उनले बताए ।
प्रतिक्रिया