धनगढी । सुदूरपश्चिम प्रदेशमा अब रगत निशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निशुल्क पाइने भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसंग सहकार्य गर्दै आइतबारदेखि रगत निशुल्क उपलब्ध गराउने भएको हो ।
मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीका अनुसार मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा निशुल्क रक्त सञ्चार सेवाको शुभारम्क कार्यक्रम आइतबार राखिएको छ ।
‘प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौं वटै जिल्ला शाखा र टीकापुर उपशाखासंग निशुल्क रगतका लागि आइतबार नै सम्झौता गर्ने कार्यक्रम पनि छ,’ उनले भने, ‘रेडक्रसले निशुल्क रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार एक सय ५० रुपैयाँ प्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने छ ।’
प्रतिक्रिया