धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई अगाडि बढाउन मिडियाको साथ आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा अग्रलेख डटकम र अग्रलेख लाइभ अनलाइन टेलिभिजनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सरकारलाई गतिशिल बनाउन र प्रदेशलाई अगाडि बढाउन मिडियाको साथ आवश्यक रहेको बताएका हुन् ।
‘हामीले गरेका सबै प्रयत्न सकारात्मक नहुनु पनि सक्नछन्,’ उनले भने, ‘फरक सोच हुनसक्छ । कार्यशैली फरक हुनसक्छ । त्यसैले सरकारको काममा मिडियाको निगरानी आवश्यक छ ।’
कार्यक्रममा अग्रलेख मल्टिमिडियाका अध्यक्ष अर्जुन शाहले सुदूरपश्चिमको गरिबी र पछौटेपनविरुद्ध सहकार्य गर्न र आवश्यक परे नेतृत्व गर्ने उद्येश्यसहित मल्टिमिडिया सञ्चालनमा ल्याएको बताए ।
‘स्थापित मूल्यमान्यता र पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहँदै मुलुक र नागरिकको पक्षमा उभिएर सार्वजनिक सरोकारका सवालहरु उठान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो,’ उनले भने, ‘मुलुकको शासन सञ्चालन र शक्तिशाली ओहोदामा रहेकाहरूबाट हुने आर्थिक अनियमितता र शक्तिको दुरूपयोगविरूद्ध पहरेदारी गर्नु हाम्रो प्रधान कर्तव्य हुनेछ ।’
प्रतिक्रिया