ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद सुल्झिएन, केन्द्रीय समितिमा उठ्यो विषय

मङ्गलबार २३, पुष २०८१ ०६:१०

धनगढी । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य एवम् सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले संसदीय दलको नेता फेरबदलको निर्देशन कार्यान्वयन नभएको विषय पार्टी केन्द्रीय समितिको बैठकमा उठाएका छन् । काठमाडौँमा जारी माओवादी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै धामीले सुदूरपश्चिममा दलको नेता फेर्नेबारे विगतमा भएको समझदारी र केन्द्रको निर्देशन पालना नभएको विषय उठाएका हुन् ।

‘२०८१ असार ३ गते अध्यक्षसहित, सुदूरपश्चिमको इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र हामी १० जना प्रदेशसभा सदस्य बसेर एउटा सहमति भएको थियो, त्यो कार्यान्वयन भएको छैन,’ धामीले भने, ‘पार्टीबाट दुई पटक परिपत्र भएको छ । निर्देशन भएका छन् । त्यो परिपत्र कार्यान्वयन भएको छैन । त्यो निर्णय कार्यान्वयन हुनुपर्छ ।’

पार्टीभित्रको विवाद चर्किएपछि गत वर्ष माघमा माओवादीका बहुमत सांसदले स्थायी समिति सदस्यसमेत रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई नेता चयन गरेका थिए । उक्त निर्णयपछि माओवादीभित्र चर्किएको विवाद अझै साम्य भएको छैन । 

माओवादीभित्र सुदूरपश्चिममा सबैभन्दा सिनियर नेता रहेका भट्टलाई दलको नेताबाट हटाइएपछि यो विषय पार्टी केन्द्रसम्म पुगेको थियो । माओवादीले दलको नेतामा भट्टलाई नै कायम गर्न दुई पटक परिपत्र गरे पनि कार्यान्वयन भएको छैन ।

दलको नेता परिवर्तन गर्दा धामीको पक्षमा छ र भट्टको पक्षमा चारजना थिए । अहिले दुवै पक्षमा पाँच÷पाँचजना छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पार्टीको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा प्रदेशसभा सदस्यहरुको उपस्थितिमा गत असार ३ गते भएको बैठकमा दलको नेतामा भट्टलाई कायम गर्ने सहमति भएको थियो ।

यस्तै, केन्द्रीय समिति बैठकमा धामीले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन जनाए । लोकतान्त्रिक गणतन्त्रलाई बुर्जवा गणतन्त्र नभइ समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने प्रस्थानविन्दुका रुपमा अध्यक्षको प्रतिवेदन आएको धामीले बताए । प्रतिवेदनलाई पूर्णरुपमा समर्थन गर्दै अध्यक्षलाई साथ दिन र प्रतिवेदनको अन्तरवस्तुलाई आत्मसाथ गरी एकतावद्ध भएर जान उनले पार्टी पंक्तिलाई आग्रह गरे ।  
 

प्रतिक्रिया