धनगढी । मंगलबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई एक सय ११ रजले पराजित गर्दै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
कैलालीस्थित धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ममता चौधरी इन्दु बर्माको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८१ रनको उच्च योगफल तयार पारेको थियो । चौधरी ७८ रनमा अविजित रहिन् । यस्तै बर्माले ५२ तथा राजमती ऐरीले २२ रन बनाइन् ।
कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् । एक सय ८३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । उसका लागि दिक्षा पुरीले १७ तथा रमा बुढाथोकी र गौरी बोहराले समान १०÷१० रनको योगदान दिए । एपीएफकी करुणा भण्डारीले ३ तथा रेखा रावल र सुमन बिष्टले १/१ विकेट लिए ।
प्रतियोगिताको उद्धघाटन खेलमा भने गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको थियो । उक्त खेल पनि मंगलबार बिहान फाप्ला क्रिकेट मैदानमै भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले पाँच लाख पुरस्कार पाउने छ । दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५/२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार पुरस्कार दिइने छ ।
प्रतिक्रिया