धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
गण्डकी प्रदेशले दिएको ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । एपीएफका लागि कप्तान इन्दु बर्मा २६ र रोमा थापा १४ रनमा अविजित रहे । यस्तै, ममता चौधरीले १८ र राजमति ऐरीले ८ रनको योगदान दिए ।
गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ७० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् ।
यस्तै, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोड्दा निरुता जीटी ५ रनमा अविजित रहिन् । गण्डकीका मनिका लामिछाने र आकृति तिवारी भने शून्य रनमै पभिलियन फर्किएका थिए ।
एपीएफका लागि बिनु बुढाले २ र करुणा भण्डारीले १ विकेट लिए । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशमाथि १ सय ११ रनको फराकिलो जित निकालेको थियो । गण्डकी प्रदेश भने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।
दोस्रो जितसँगै समूह 'ए' मा रहेको एपीएफ २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको १ खेलबाट २ अंक छ । एपीएफ रहेको समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश छन् ।
प्रतिक्रिया