धनगढी । कञ्चनपुरमा श्रीमान्को हत्या आरोपमा पक्राउ परेकी ४३ वर्षीया जनककुमारी रानाले अभियोग स्विकार गरेकी छिन् । गत मंसिर १३ गते बेलौरी नगरपालिका–६, भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या आरोपमा उनकी श्रीमती जनककुमारी पक्राउ परेकी थिइन् ।
उनले आफ्ना प्रेमीसंग मिलेर हत्या गरेको स्विकार गरेकी हुन् । जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको अनुसन्धानबाट पनि खुलेको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने फारुख र जनककुमारी केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
प्रहरीका अनुसार सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी हुन् । पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैँले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् ।
अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ ।
प्रतिक्रिया