ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको क्रिकेटमा जीवन्त बाँचेका अर्जुन

बिहिबार ०३, माघ २०८१ ०१:४२

धनगढी । कुनै समय सचिन तेन्दुलकरसँगै क्रिकेट खेल्थे उनी । बाल्यकालदेखिको दोस्ती थियो, दुवैबीच । तर सचिनले क्रिकेट जगतमा दुर्लभ इतिहास रचे । तर उनी कैलालीको क्रिकेटमा रम्दै यहीँ जीवन समर्पण गरेर अस्ताए । उनी अर्थात् अर्जुन खड्का । सुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो, अर्जुन ।

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा चिनिन्छन् खड्का । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको ०७२ सालमा ४५ वर्षको उमेरमा निधन भएको थियो ।  उनले १० वर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए । पछिल्ला पाँच वर्ष भने धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए । 

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका बुवा काम गर्थे । सोही कमाईबाट उनका बुवाले धनगढीमा घरघडेरी जोडेका थिए । 

उनी १८ वर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन, नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीब्र गति लियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । 

जीवनमा अर्जुनले कहिल्यै ब्याट र बल हातबाट छोडेनन् । ‘जीवन मरणान्तसम्म क्रिकेटसँग जोडिएर रहेका अर्जुन सुदूरपश्चिमको क्रिकेटमा जीवन्त बाँचेका छन्,’ बिहीबार धनगढी क्रिकेट एकेडेमी पुग्दा कुराकानीको क्रममा एक क्रिकेटकर्मी भन्दै थिए । 

उनै खड्काको स्मृतिमा अव धनगढीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीमा फाप्लामा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गतृसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफी आयोजना हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ । 

याे पनि : धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी, विजेतालाई १० लाख

प्रतिक्रिया