धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा त्रिवेणी महोत्सव सञ्चालन हुने भएको छ । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चको आयोजनामा यही माघ १५ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
त्रिवेणी महोत्सव मुल आयोजक समितिका संयोजक बीरेन्द्रबहादुर रावलले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी सुरु गरिएको जानकारी दिएका छन् । उनले महोत्सवमा करिब एक सय व्यवसायीक स्टलहरु रहने जानकारी दिए ।
मोहन्याल गाउँपालिकामा पर्ने भेरी, कर्णाली र सेतीको संगमस्थल रहेको त्रिवेणी घाट, राजकाँडामा रहेको धुलिखेल, मालिका मन्दिर, कर्णालीमा ¥याफ्टिङलगायत मोहन्यालका पर्यटकीय संभावनाको उजार गर्न महोत्सव सञ्चालन गर्न लागिएको संयोजक रावलले बताए ।
महोत्सवले मोहन्याल गाउँपालिकाको पर्यटनलगायत विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा रहने स्टलहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजक चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चले जनाएको छ ।
महोत्सवले मोहन्याल क्षेत्रको शिक्षा, पर्यटन, कृषि, आर्थिक, धार्मिक, सांस्कृतिक एवम् सामाजिक विकासका सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने रावलले बताए । मोहन्यालमा शव बहान र एम्बुलेन्स सेवा सञ्चालनका लागि सम्बन्धित निकायलाई दवाव सिर्जना गर्नुका साथै शैक्षिक संस्थामा इको क्लब निर्माण गरी वातावरण संरक्षणका गतिविधिहरु अघि बढाउने पनि महत्सवले दवाव सिर्जना गर्ने आयोजकको भनाइ छ ।
प्रतिक्रिया