ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
विपिन रिहाइको आशा जाग्यो

१५ महिनादेखि ‘बन्धक’ दाइ कुरिरहेकी पुष्पा

शुक्रबार ०४, माघ २०८१ ०४:०८

धनगढी । घरीघरी दाजु विपिन जाेशीलाई सम्झिदै भक्कानिन्छिन् पुष्पा । दराजमाथि राखिएका विपिनका तस्बिर ओल्टाइपल्टाइ गर्छिन् । भन्छिन्, ‘तस्बिर पनि बोलेजस्तो लाग्छ । फर्केर आउँछु नि बहिनी चिन्ता नगर है भनेजस्तो अनुभूति हुन्छ । मेरो दाजु जसरी पनि फर्कादेउ भगवान् ।’

दिनको चार/पाँच पटक दाइ विपिनसँग टेलिफोनमा कुराकानी गरेर दिनभरीका गतिविधि सुनाउने पुष्पाले दाइको आवाज नसुनेको १५ महिना भइसकेको छ । २० असोज २०८० देखि उनका दाइले फेसबुक म्यासेन्जरमा पनि रिप्लाई गरेका छैनन् । गरुन् पनि कसरी ? उनी आफैँ सम्पर्कविहीन भएको नै १५ महिना बितिसक्यो । 

‘अहिले पनि फोनको घण्टी बज्दा दाजुको फोन आयो लाग्छ,’ उनी भन्छिन्, ‘म्यासेन्जरमा म्यासेज छोड्यो कि भन्ने लाग्छ । बेलाबेला म्यासेज हेरिरहन्छु । कतै केही नपाएपछि दाजुसँग गरिएका पुराना म्यासेजहरु हेरेर चित्त बुझाउँछु । कसो नआउला एक दिन फर्केर भन्ने लाग्छ ।’

आइएस्सी पढ्दै गरेकी पुष्पालाई विपिन इजायल जानुअघि र गइसकेपछिका हरेक कुराकानी सम्झना छ । ‘एघार महिनापछि फर्किन्छु भन्नुहुन्थ्यो,’ आँखाभरी आँसु बनाउँदै उनले भनिन्, ‘हरेक दिन भिडियो कलमा म आइहाल्छु नि भन्नुहुन्थ्यो । त्यो आवाज सुन्न नपाएको १५ महिना बढी भयो ।’

इजायल र हमासबीच युद्धविरामको सहमित भएसँगै विपिन घर फर्की आउने व्यग्र प्रतीक्षामा छिन् उनी । ‘दाजु बन्धक बनाइको १५ महिनापछि केही खुसी लागेको छ,’ उनले थपिन्, ‘दाईको घर फिर्ती हुने आशा जागेको छ । बुवाआमा पनि सोही पर्खाइमा हुनुहुन्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन २०८० साल भदौ २६ मा सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै २०८० साल असोज २० मा हमास समूहले त्यहाँ आक्रमण गरेको थियो । सो आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमास समूहले बन्धन बनाएको भनिएको छ । तर, हमास समूहले अहिलेसम्म विपिनको अवस्थासमेत सार्वजनिक गरेको छैन ।

युद्धविरामपछि पनि हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको सूचना आएकाले यहीँ चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । पुष्पा भन्छिन्, ‘युद्धविराम पछिको यो संवेदनशील समयमा सरकारले विशेष पहल गरिदेओस । दाजु सकुशल भएको खबर सुन्न आतुर छु ।’
 

प्रतिक्रिया