धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । शुक्रबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो ।
गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेट गुमाए भेट्टायो । लुम्बिनीका लागि सरस्वती पुनले ३१, रञ्जु श्रेष्ठले २० तथा एन्जी पाठकले १८ रनको योगदान दिए । गण्डकीकी अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि सलिना सेनले ३३ तथा रेखा तामाङले २५ रन बनाएका थिए । लुम्बिनीका मनिषा रानाले २ तथा मधु डिसीले १ विकेट लिए ।
यस्तै, प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । आउट फिल्डमा पानी जमेका कारण ढिलो खेल सुरु हुँदा ५ ओभरमा छोट्याइएको थियो । कर्णालीले २१ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले १.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । जितमा कविता कुँवरले सर्वाधिक १४ रन जोडिन् । अर्की ओपनर मनिषा बोहोराले नट आउट ५ रन बनाइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनायो । टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि आशिका महराले ३, कविता कुँवरले २ तथा ऋतु कनौजियाले १ विकेट लिइन् । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ३ खेलमा १ अंकका साथ पाँचौ स्थानमा छ ।
प्रतिक्रिया