धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ । उनले शिक्षा क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको उपमहानगरले जनाएको छ ।
नगरप्रमुख गोपाल हमालले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको बताए ।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन् । कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो ।
भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरेका छन् । डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् । उनी २०७४ मा सेवानिवृत्त भएका थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाले नेपालकी प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री तथा समाजसेवी डाक्टर केआई सिंहको प्रतिमा बनाउन लागेको छ । सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको आगामी वर्षहरूमा पनि सालिक बनाइने जनाइएको छ।
प्रतिक्रिया