धनगढी । कैलालीको एक फलफूल पसलमा चरेस भेटिएको छ । प्रहरीले शनिबार गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित भोले फ्रुट्स सप्लायर्समा ७३ ग्राम ८४० मिलिग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ भेटाएको हो ।
बैतडीको पाटन नगरपालिका-८ घर भई धनगढी रोडमा फ्रुट्स सप्लायर्स सञ्चालन गरी बसेका २९ वर्षका जगदिश भट्टलाई लागुऔषध भेटिएपछि इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, हिजो नै धनगढी उपमहानगरपालिका-१ पार्क मोडबाट सोही ठाउँ बस्ने २२ वर्षका अभिषेक बसुवा र गौरीगंगा नगरपालिका-१ बस्ने २२ वर्षका विष्णु गुरुङ्गलाई १९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया