धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बाजुराको बडीमालिका मन्दिरका लागि सरकारी डोल पठाउने भएको छ । पहिलो पटक पूजा सामग्री सहितको सरकारी डोल बडीमालिका पठाउने तयारी भएको नगरप्रमुख गोपाल हमालले बताए ।
उनले सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको र बडीमालिकाप्रति आस्था रहेको हुँदा पूजा सामग्रीसहित सरकारी डोल पठाउने तयारी गरिएको बताए । धनगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने छन् ।
राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र चन्द्रनाथको पल्टन जुम्लाबाट बडीमालिका पठाउने परम्परा छ । बाजुराले पनि पछि डोल पठाउन थालेको हो । धनगढीले पनि पहिलो पटक श्रीवृद्धिका लागि भन्दै डोल पठाउने तयारी गरेको नगरप्रमुख हमालले बताए ।
बडीमालिका मन्दिरमा जेठको शुक्ल पक्ष अष्टमी तिथिमा पूजा हुने गर्दछ । सोही समयमा धनगढीबाट पनि डोल पठाइनेछ । पुजारी नेत्रप्रसाद पाध्यायले जेठ शुक्ल पक्षको अष्टमीमा मन्दिरमा पूजा हुने गरेको र श्रावण शुक्ल पक्षको चतुर्दशीमा मूल पूजा हुने गरेको बताए । बडीमालिकामा वर्षमा दुई पटक पूजासहितको मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया