धनगढी । कञ्चनपुरमा पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उधमसिँहनगर जिल्ला ग्राम खटिमा बस्ने ३४ वर्षको जीवन सिंह जिमेवाल, ३१ वर्षको कोमल विष्ट, ३४ वर्षको उमेदसिँह अधिकारी र २८ वर्षको संजय जेठी रहेको प्रहरीले बताएको छ ।
बुधबार भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्वपश्चिम राजमार्गमा महेन्द्रनगरबाट पश्चिम गड्डाचौकीतर्फ गइरहेको जीवनले चलाएको यूके ०६ एआर ०८४६ नम्बरको कार चेकजाँच गर्दा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल जस्तो देखिने हतियार एक थान बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ ।
भारतीय नागरिकले चलाएको गाडीमा हातहतियार बोकेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया