काठमाडौँ । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले बताइन् ।
महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका-४ बाट पक्राउ परेका युवकलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिई सम्पर्कविहीन हुने गरेकोसमेत खुल्न आएको प्रहरी नायब उपरीक्षक चन्दले बताइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । काठमाडौँ परिसरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले कार्यालयद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रनाउ चन्दलाई प्रवक्ता तोकिएको जानकारी दिए । रासस
प्रतिक्रिया