धनगढी । संघीय सरकारको सांसद् विकास कोषबाट निर्माण सुरु गरिएकाको कैलालीका पाँच वटा सडक सो कोष खारेज भइसक्दा समेत बनेका छैनन् । डेढ वर्षमा निर्माण सम्पन्न हुने गरी आर्थिक वर्ष २०७८/७९ मा सांसद् विकास कोषबाट ठेक्का लगाइएका सडकहरु म्याद सकिएको एक वर्षपछि पनि आधासमेत नबनेका हुन् ।
कैलाली क्षेत्र नम्बर १ मा नारायणपुर–टीकापुर, क्षेत्र नम्बर २ मा चिसापानी–कुइने, क्षेत्र नम्बर ३ मा पहलमानपुर–लालबोझी, क्षेत्र नम्बर ४ मा चौमाला बजार क्षेत्रको सडक र क्षेत्र नम्बर ५ मा बेली–उर्मी–उर्मा–भादा–बेहडा बाबा–रामपुर सडक ठेक्का लगाइएको थियो । पाँच वटै निर्वाचन क्षेत्रको सडक निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर प्रकाशबहादुर खड्काले बताए ।
उनले २०७८/७९ को बजेट कैलालीका प्रत्येक संघीय निर्वाचन क्षेत्रका एक÷एक वटा सडक निर्माणका लागि ठेक्का लगाइएको बताए । कैलालीको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बेहडा बाबा र थारु होट स्टे गाउँ भादाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले धनगढीको बेलीस्थित खुटिया पुलदेखि उर्मी, उर्मा, भादा, बेहडा बाबा हुँदै रामपुर पुग्ने १० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लगाइएको थियो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सो वर्ष आएको सांसद विकास कोषको रकमबाट सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७९ बैशाख २ गते बज्रगुरु बि एण्ड भि सनलाइट जेभीलाई सो सडक निर्माणका लागि १० करोड ५२ लाख ८२ हजारको ठेक्का दिएको थियो । तर ठेक्का लिए पनि जेभीले काम नगरेपछि हालसम्म सो सडक अलपत्र परेको छ । सडक निर्माण सम्पन्न नहुँदा सो क्षेत्रको पर्यटनमा टेवा पुग्न सकेको छैन । डिभिजन कार्यालयका अनुसार सांसद् विकास कोष खारेज भएको भए पनि सो सडकको लागि हरेक वर्ष बजेट आइरहेको छ । तर निर्माण कम्पनीले काम नगरेकै कारण सडक निर्माणमा प्रगति भएको छैन ।
२०८० पुस २ गतेभित्रै निर्माण सम्पन्न गर्ने गरी लगाइएको ठेक्काको प्रगति हालसम्म ३० प्रतिशत मात्रै भएको डिभिजन कार्यालयका इञ्जिनियर खड्काले बताए । उनले वित्तीय प्रगति १७ प्रतिशत रहेको बताए । ‘सांसद् विकास कोष खारेज भए पनि स्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का लगाइएकोले बजेट आइरहेको छ,’ उनले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा २÷२ करोड रुपैयाँ बजेट आइरहेको छ । गतवर्ष अन्तिमतिर भुक्तानीमा केही समस्या भएपनि पछि पेमेन्ट भइसकेको छ । ठेकदारले काम नगरेर मात्रै सडक निर्माण पुरा हुन सकेको छैन ।’
बेली–उर्मी–उर्मा–भादा–बेहडाबाबा–रामपुर सडकलाई डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटि) प्रविधिबाट कालोपत्रे गर्न र बाटोमा पर्ने खोलाहरुमा कल्भर्ट निर्माणको लागि ठेक्का लगाइएको थियो । कुल १० मिटर चौडाई भएको सडकमा साढे पाँच मिटर चौडाईको डिबिएटी गर्ने, सडकको ठाउँ ठाउँमा ड्रेन, कलभर्ट, ह्युमपाइप निर्माण गर्ने स्टिमेट रहेको ईञ्जिनियर खड्काले बताए । उनले तीन मिटर स्पानमा दुई वटा सिल्याब कलभर्ट निर्माण भइसकेको र दुई वटा निर्माण भइरहेको बताए । सो ठेक्कामा सुरुबाटै राम्रोसंग काम नभएको धनगढी वडा नम्बर १५ का पूर्ववडाध्यक्ष फुलाराम चौधरीले बताए । ठेक्का लागेको दुई वर्षमा एकदमै न्यून काम भएको छ ।
‘सडकमा कुनै पनि सुधार भएको छैन,’ उनले भने, ‘पहिले जस्तो थियो, अहिले पनि सडकको अवस्था उस्तै छ । ठेकदारले काम गरेको छैन ।’ पछिल्लो पटक ठेकदारले कल्भर्ट निर्माणको काम शुरु गरेको पूर्व वडाध्यक्ष चौधरीले बताए । ‘बेलीदेखि उर्मासम्म सबबेस निर्माणको काम भएको छ,’ उनले भने, ‘वडा कार्यालयभन्दा अगाडि पहिले बनाएको सबबेस भत्किएपछि दोस्रो पटक सबबेस बनाएको छ । पहिले बनाइसकेका कलभर्टमा फिलिङ गरेको छैन । अग्ला कलभर्टमा गाडी चल्न नसक्ने अवस्था छ ।’ बज्रगुरु बि एण्ड भि सनलाइट जेभीमा सो सडक निर्माणको जिम्मेवारीमा रहेको सनलाइट निर्माण सेवाका सञ्चालक रोशन अधिकारीले अहिले कल्भर्ट निर्माण, सडक कटिङ र फिलिङको काम गरिरहेको बताए । उनले सडकमा जंगल परेको हुँदा काम गर्न नसकिएको बताए ।
‘जंगलमा पर्ने एउटा खोलामा वनमा एउटा कल्भर्ट बनाइरहेको छु,’ उनले भने, ‘अहिले काम भइरहेको छ । तर जुन गतिले हुनुपर्ने हो भइरहेको छैन । बुवाले काम लिनु भएको हो । उहाँ विरामी भएपछि काम हुन सकेन ।’ ठेक्काको म्याद सकिएको बताउँदै इञ्जिनियर खड्काले चौधौं संशोधन आएपछि मात्रै सो ठेक्काको म्याद थपिने बताए ।
उनले तत्काल म्याद थपिने सम्भावना नभएको हुँदा निर्माण कम्पनीले जतिसक्दो छिटो काम सक्नुपर्ने बताए । सनलाइट निर्माण सेवाका सञ्चालक अधिकारीले योवर्ष जसरी पनि काम सक्ने योजना भए पनि कामले गति पाउन नसकेको बताए । उनले म्याद थप, वन र कार्यालयबाट भुक्तानी पाउन नसक्दा निर्माणलाई तिब्रता दिन नसकिएको बताए । ‘जिरो प्वाइन्टदेखि जंगलसम्म जसरी पनि यो वर्ष कालोपत्रे गर्छु,’ उनले भने, ‘ठेक्का लिएको बेला र अहिलेको निर्माण सामाग्रीको मूल्यले गर्दा पनि काममा बाधा भइरहेको छ ।’
प्रतिक्रिया