धनगढी । सुदूरपश्चिम प्रदेशमा विगत दुई वर्षदेखि घर जग्गाको कारोबार निरन्तर ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले हालै सार्वजनिक गरेको २०८०÷८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिममा घरजग्गा कारोबार घट्दो अवस्थामा रहेको देखाएको छ । २०८०÷०८१ मा घरजग्गाको रजिष्ट्रेशन ८.२३ प्रतिशतले घटेको छ भने गत आर्थिक वर्षमा सो संख्या ३०.०६ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा सुदूरपश्चिममा घरजग्गा रजिष्ट्रेसन ९.७१ प्रतिशतले बृद्धि भएको थियो ।
कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्र अवस्थीले आर्थिक मन्दीकै कारण घरजग्गाको कारोबारमा निरन्तर गिरावट आइरहेको बताए । उनले सरकारको घर जग्गा सम्बन्धी लचिलो नहुनु र मानिसहरुको आयस्रोत घटेको हुनाले घरजग्गाको कारोबार घटेको बताए ।
सुदूरपश्चिम प्रदेशममा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ३१.१४ प्रतिशतले वृद्धि भई रु. ८९ करोड भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५४.०१ प्रतिशतले कमी आएकोे थियो । सुदूरपश्चिममा घर÷भवन नक्सा पास संख्या पनि १९.३३ प्रतिशतले कमी आएको छ । गत वर्षको सोही अवधिमा घर÷भवन नक्सा पास संख्या ६.२२ प्रतिशतले वृद्धि भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन संख्यामा बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । ‘समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन वापत संकलन भएको राजश्व भने सबै जिल्लाहरुमा बृद्धि भएकोे छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा कैलाली जिल्लामा सबैभन्दा बढी १ हजार ७ सय ३६ वटा घर÷भवन नक्सा पास भएका छन् भने बाजुरा र दार्चुला जिल्लामा घर÷भवन नक्सा पास भएको छैन ।’
आर्थिक वर्ष २०८०÷८१ मा आर्थिक गतिविधिहरु सुस्त नै रहेको, पहाडी जिल्लाहरुमा घरनक्सा पास गर्ने प्रचलन कमै रहेको र दुई जिल्लाहरुमा समीक्षा वर्षमा घरनक्सा पास नभएको कारणले नक्सा पास संख्यामा ह्रास आएको प्रतिवेदनमा जनाइएको छ ।
सुदूरपश्चिम जस्तै देशका सात वटै प्रदेशमा घर जग्गाको कारोबार घट्दो अवस्थामा छ । घरजग्गा रजिष्ट्रेशन संख्यामा लुम्बिनी प्रदेशमा २२.७२, मधेश प्रदेशमा ३.३१, बागमती प्रदेशमा ४०.८, गण्डकी प्रदेशमा ३३.५, कर्णाली प्रदेशमा ३०.७१ र कोशी प्रदेशमा २६.८५ प्रतिशतले घटेको प्रादेशिक प्रतिवेदनहरुमा उल्लेख छ ।
कोशी बाहेकका प्रदेशमा घरनक्सा पास संख्या समेत घटेको छ । घर नक्सा पास लुम्बिनीमा १३.३५, मधेशमा १२.८४, बागमतीमा १५.२, गण्डकीमा १६.१, कर्णालीमा २२.६८ प्रतिशतले घटेको छ । कोशीमा ४.५६ प्रतिशतले घरनक्सा पास बढेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया