धनगढी । लागत अनुमानभन्दा आधा घटीमा लगाइएका ठेक्का निर्माण व्यवसायीले काम गर्न नसक्दा अलपत्र परेका छन् । जसरी पनि ठेक्का हात पार्नका लागि निर्माण व्यवसायीले लागत अनु्मानभन्दा झण्डै आधा घटीमा हालेको ठेक्का स्वीकृत हुँदा इस्टिमेटअनुसार काम गर्नैैपर्ने र निर्माण सामाग्रीको मूल्य बढ्न गई निर्माण व्यवसायीले ठेक्का अलपत्र छाड्ने गरेका हुन् । निर्माण क्षेत्रमा ठेक्का मात्रै हात पार्ने तर काम नगर्ने विकृति पनि बढ्न थालेको छ ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका महासचिव खेमराज जोशीले जसरी पनि काम लिनुपर्ने, नाफा–घाटाको आँकल गर्न नसक्ने निर्माण व्यवसायीहरुले लागत भन्दा एकदमै घटीमा टेण्डर भर्ने गरेको बताए । ‘यसले गर्दा निर्माण व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ,’ उनले भने, ‘यसरी टेण्डर लिने व्यवसायीले घरखेत बेच्नुपर्ने समस्या छ । कतिपय निर्माण व्यवसायीले काम नगर्ने उद्देश्यले पनि आधा घटीमा टेण्डर भर्ने गरेका छन् । उनीहरुले मोविलाइजेशन खर्च लिएर काम छोड्छन् । यसले सरकार र काम गर्ने निर्माण व्यवसायीको सम्बन्धमा पनि नकारात्मक असर गरेको छ ।’
पूर्वाधार विकास कार्यालय कैलालीबाट थेगिम कन्स्ट्रक्सन प्रालिले कैलाली गाउँपालिका–३ मा पर्ने सुर्मीनालामा पुल बनाउन २०७७ साउन १८ गते लागत अनुमानभन्दा झण्डै आधा कम अंक कबोल गरी ठेक्का लिएको थियो । १८ महिनामा पुल निर्माण गरी सक्ने गरी लिएको ठेक्काको काम सुरुवाती चरणमै छ ।
आठ करोड एक लाख छ हजार ५३२ रुपैयाँ लागत अनुमान रहेको पुल योजना थेगिमले चार करोड ९३ लाख ९१ हजारमा ४९३ रुपैयाँमा ठेक्का लिएको थियो ।
गोदावरी नगरपालिका–२, कृष्णमन्दिरदेखि वडा नम्बर १२ बान्द्रेखालसम्मको सडकमा अढाई किलोमिटरको कृष्ण मन्दिर–खमौरा खण्ड कालोपत्रे गर्न एडभेन्चर थेगिम सनलाईट जेभीले २०७७ साउन २४ गते १८ महिनामा काम सक्ने गरी ठेक्कामा लिएको थियो । नौ करोड ३९ लाख आठ हजार ३९५ रुपैयाँ लागत अनुमान रहेको योजना थेगिमले पाँच करोड ८४ लाख २५ हजार १३ रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्काको तीन पटकसम्म थपिएको म्याद सकिए पनि निर्माण कार्य ४० प्रतिशत मात्रै भएको भौतिक पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाबाट बडातेडी डुणे कन्स्ट्रक्सन प्रालिले लागतभन्दा झण्डै आधा कम अंक कबोल गरी २०७७ पौष १४ गते पाँच वटा भवन निर्माणको ठेक्का लिएको थियो । प्रति विद्यालय भवन डेढ करोड लागत अनुमान गरिएको भए पनि बडातेडीले प्रति विद्यालय भवन सवा ८६ लाखमै बनाइदिने कबोल गरी ठेक्का हात पारेको थियो । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेकोमा पाँच वर्षसम्म विद्यालय भवन निर्माणको काम सकिएको छैन ।
महासचिव जोशीले अति कममा ठेक्का लिने र योजना अलपत्र पार्ने काम नियन्त्रण गर्नकै लागि महासंघले एभरेज टेण्डर स्वीकृत हुनुपर्ने व्यवस्थाको माग गरेको बताए । ‘अति घटी टेण्डरले योजना र निर्माणमा व्यवसायी दुबैलाई घाटा भइरहेको छ,’ उनले भने, ‘हामीले योजना पनि समयमा सम्पन्न होस् र निर्माण व्यवसायीलाई पनि घाटा नहोस् भनेर एभरेज टेण्डर स्वीकृत गर्न व्यवस्था माग गरेका छौं । यसैको लागि हाम्रो आन्दोलन चलिरहेको छ ।’
प्रतिक्रिया