ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
सुदूरपश्चिममा सल्टिएन माओवादी विवाद

खगराजलाई दल नेता बन्न कसले रोक्दैछ ?

बुधबार २३, माघ २०८१ १२:३६

धनगढी । नेकपा माओवादी (केन्द्र) सुदूरपश्चिम संसदीय दलमा एक वर्षदेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई  नेता चयन गरिएपछि माओवादीभित्रको विवाद सतहमा आएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै देखिए । 

२१ फागुन २०८० मा संघमा गठबन्धन फेरबदल भएपछि प्रदेशमा पनि माओवादी र एमालेको सरकार बन्यो । छ जना सांसद रहेको धामी पक्षबाट भाट, रावल र विश्वकर्मालाई मन्त्री बनाइयो । तर, वली मन्त्रीको सूची परेनन् । त्यसपछि वली भट्ट समूहमा गए र अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् । धामीलाई हटाएर दल नेता खगराजलाई बनाउन त्यो समूहसंग अहिले पनि बहुमत छैन । 

अध्यक्षको निर्देशन हुँदैन कार्यान्वयन
संसदीय दलको नेता धामीलाई बनाएको पाँच महिनापछि असारको पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनस्र्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन संसदीय दलले कार्यान्वयन गरेन । 
दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । केन्द्रले २ भदौमा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएको थियो । तर, त्यो निर्देशन पनि कार्यान्वयन भएन ।

१३ भदौमा प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराजलाई बनाउन चौथोपटक निर्देशन दिए । धनगढीमा बसेको पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । उक्त निर्देशनको पाँच महिना वितिसक्दा पनि दल नेता फेरिएका छैनन् । 

उपमहासचिव पुन फ्याक्टरले रोक्दैछ निर्देशन कार्यान्वयन
संसदीय दलका नेता धामी उपमहासचिव वर्षमान पुन पक्षका हुन् । पुनले धामीलाई दलको नेता बनाउन भूमिका खेलेको चर्चा सुदूरपश्चिममा छ । सोही कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन नमान्नुमा पुनको भूमिका पनि महत्वपूर्ण रहेको सुदूरपश्चिमका माओवादी नेता बताउँछन् । ‘पुनले खगराजलाई आफ्नो समूहमा आएपछि मात्रै दल नेता बनाउने बताएका छन्,’ माओवादीका एक नेताले भने, ‘तर, खगराज त्यसमा सहमत देखिएनन् । खगराज जनार्दन शर्मा समूहमा छन् ।’

यता उपमहासचिव वर्षमान पुनले भने सुदूरपश्चिम संसदीय दलमा देखिएको मतभेद छलफलबाटै अन्त्य गर्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले भने, ‘यहाँको दलको निर्णय यहीँको दलले गर्छ । यसको अर्थ केन्द्रले केही गर्दैन भन्ने होइन । तपाईँहरु एकतावद्ध हुनुहोस भनेर केन्द्रले निर्देशन दिन्छ ।’

तपाईँका कारण खगराज भट्टलाई दल नेता बनाउने अध्यक्षको निर्देशन कार्यान्वयन नभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पुनले दलभित्र मतभेद देखिएपछि छलफलबाट हल गर्न आफूले पहिले नै आग्रह गरेको बताए । ‘यहाँ दलभित्रै मतभेद देखिएपछि छलफलबाट हल गर्नुहोस् भन्दाभन्दै नेता फेरिदिनुभयो,’ उनले भने, ‘त्यसपछि त्यो विवाद केन्द्रमा पुग्यो । अध्यक्षले सिंगो दललाई बोलाएर काठामडौंमा छलफल गर्नुभयो । त्यसपछि अध्यक्ष र महासचिवले सर्कुलर जारी गर्नुभएको हो । त्यो लागू भएन । मेरो कारणले सर्कुलर कार्यान्वयन लम्बियो भन्ने होइन ।’

भूमिकाविहीन खगराज
गत वर्ष साउनसम्म माओवादीको सुदूरपश्चिम प्रदेश समिति इन्चार्ज र दलको नेता भट्ट थिए । साउनमा भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी मात्र इन्चार्ज हुने निर्णय गरेपछि भट्ट स्वतः इन्चार्जबाट हटे । इञ्चार्जको जिम्मेवारी उपमहासचिव गिरीराजमणि पोखरेलले पाए ।

लेखराज भट्ट एमालेमा गएपछि खगराजभन्दा सिनियर नेता माओवादी सुदूरपश्चिममा छैनन् । तर, उनी माघदेखि भने भूमिकाविहीन छन् । उनले प्रदेशसभा बैठकमा जान छोडेका छन् । 

खगराजको विरोधमा रहेका माओवादी सुदूरपश्चिम प्रदेशसभा सदस्यले उनलाई दलको नेता बनाउन सर्त राख्ने गरेका छन् । ‘दल नेता धामी पक्षका केही प्रदेशसभा सदस्यले प्रचण्डलाई भेटेरै गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएपछि हामी सहज रूपमा खगराजलाई दलको नेता बनाउन तयार हुन्छौं भनेका थिए,’ एक नेताले भने, ‘पोखरेलका कारण खगराज बलियो भएको आशय उनीहरुको थियो । तर, पोखरेललाई हटाउन पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तयार देखिएनन् ।’

विगतदेखि नै खगराज प्रचण्ड निकट नभएका कारण पनि दल नेतामा उनको पुनरागमन मुस्किल भएको ती नेता बताउँछन् । ‘उनी पहिले बाबुराम भट्टराई समूहमा थिए,’ ती नेताले भने, ‘त्यसैले प्रचण्डले पनि बाहिर खगराजलाई नेता बनाउन निर्देशन दिने तर भित्र धामीलाई नै दल नेतामा कायम राख्न आग्रह गर्ने गरेका छन् । त्यस्तो नभए छ प्रदेशमा प्रचण्डको निर्देशनअनुसार दल नेता चयन हुने तर सुदूरपश्चिममा निर्देशन नै कार्यान्वयन नहुने कसरी हुन्छ ?’

प्रतिक्रिया