धनगढी । दलविहीन भएपछि मातृभूमि जागरण अभियान संचालन गरिरहेका डा. भीम रावल ४ माघदेखि गृहप्रदेश सुदूरपश्चिममा छन् । दुई साता गृहजिल्ला अछाम बसेका उनले त्यहाँ वडा र विभिन्न पालिकामा मातृभूमि जागरण अभियानको तदर्थ समिती गठन गरेका थिए ।
२० माघदेखि भने रावल सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा छन् । सोही क्रममा रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने जानकारी दिएका छन् । `कैलाली र कंचनपुरको जागरण भेला शनिबार आयोजना गरेका छौं,´ धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, `भेलामा जुनसुकै पार्टीमा आवद्ध रहेका देशभक्त नागरिकलागि उपस्थितिका लागि आह्वान गर्दछु ।´
यस्तै रावलले प्रधानमन्त्री केपी शर्मा ओलेले फेरि एकपटक तानाशाही चरित्र देखाएको बताएका छन् । कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै रावलले अध्यादेशबाट शासन गर्न खोजेको बताउँदै यस्तो बताएका हुन् ।
`ओलीको तानाशाही चरित्र फेरि एकपटक छर्लङ्ग भएको छ,´ उनले भने, `अघिल्लो कार्यकालमा एकपछि अर्को अध्यादेश ल्याएका थिए । अहिले पनि सोही बाटोमा ओली लागेका छन् । यसपटक त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरि अध्यादेश ल्याउने कुरा सुनिएको छ ।´
संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले र कांग्रेसले जनतासंग झुठो बोलेको उनको भनाइ थियो ।
प्रतिक्रिया