धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले क्रिकेट खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन सफल पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलाडी कुशल भुर्तेल, लोकेश बम, ललित राजवंशी, बिनोद भण्डारी र सन्दीप जोरालाई बिहीबार सम्मान गरिएको हो ।
विद्यालयले खेलाडीलाई जनही १० हजार रुपैयाँ समेत प्रदान गरेको छ । सो अवसरमा विद्यार्थीहरुमाझ आफ्ना अनुभव साक्षात्कार गराउँदै क्रिकेटर कुशल भुर्तेलले सफलता प्राप्तिका लागि अनुशासनको ठुलो महत्व रहेको बताए । उनले इच्छाशक्ति भए जीवनमा जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने धारणा राखे ।
क्रिकेटर लोकेश बमले चैतन्य पाठशालाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । उनले चैतन्य पाठशालाबाट पनि खेलाडी उत्पादन हुने आशा गरे ।
चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बालबालिकालाई किताबी ज्ञानमात्रै नभइ रुची अनुसारको क्षेत्रमा अग्रसर गराउने प्रयास विद्यालयले गरिरहेको बताए । विद्यालयका प्रधानाध्यापक कटक बहादुर सिंहले चैतन्यमा विद्यार्थीमैत्री वातावरण रहेको दावी गर्दै चैतन्य स्पोट्र्स एकेडेमीबाट खेल जगतमा राम्रा प्रतिभा उजागर गर्ने बताए ।
प्रतिक्रिया