ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्धारित समयमै बन्दैछन् धनगढीका तीन पुल

बिहिबार २४, माघ २०८१ ०६:०१

धनगढी । कैलालीको धनगढीमा निर्माण भइरहेका तीन वटा पुलको काम निर्धारित समयमै सकिने भएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा उपमहानगरपालिकाले ठेक्का लगाएको धनगढी–८ को नवदुर्गा मन्दिर नजिकको सुकुटी खोला, वडा नम्बर १ को साथी होटल पछाडिको कैलाली खोला र वडा नम्बर ५ को सुकुटी खोलाको पुल एक वर्षमै निर्माणको अन्तिम चरणमा पुगाइएको हो । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ५ जोड्ने सुकुटी खोलाको पुल निर्माण ९५ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

इञ्जिनियर रोशन खड्काले १० मिटरको सो पुल निर्माणको काम पाँच प्रतिशत मात्रै बाँकी रहेको बताए । उनका अनुसार दुई करोड १८ लाख ७४ हजार रुपैयाँ लागत अनुमान रहेको पुल निर्माण गर्न साजेन्द्रेश्वर–पोइन्ट जेभीले एक करोड ५८ लाख १० हजार २८९ रुपैयाँमा ठेक्का कबोल गरेको थियो । २०८० मंसिर ८ गते लगाइएको ठेक्काको काम यहीँ माघ ३० गतेसम्म काम सक्ने म्याद छ ।

यसैगरी वडा नम्बर १ र ८ लाई जोड्ने सुकुटी खोलाको पुल निर्माणमा ७१ प्रतिशत प्रगति भइसकेको उपमहानगरपालिकाले जनाएको छ । इञ्जिनियर उपेन्द्रप्रसाद भट्टका अनुसार २५ मिटर लम्बाई भएको सो पुलको दुबैतर्फको एबोटमेन्ट निर्माण भई स्ल्याब हाल्न मात्रै बाँकी छ । स्ल्याब हाल्नको लागि निर्माण कम्पनीले सेटरिङको काम गरिरहेको छ । चार करोड ७७ लाख ९७ हजार ८७४ रुपैयाँ लागत अनुमान रहेको सो पुल निर्माण गर्न तीन करोड ७९ लाख ९८ हजार ८१४ रुपैयाँमा साजेन्द्रेश्वर निर्माण सेवाले ठेक्का लिएको छ । 

यसैगरी, धनगढीको वडा नम्बर १ र २ लाई जोड्ने कैलाली खोलाको पुलको काम ७६ प्रतिशत सम्पन्न भएको छ । सो पुलको पनि दुबैतर्फको एबोटमेन्ट निर्माण भइसकेको छ । स्ल्याब हाल्नको लागि निर्माणको लागि निर्माण कम्पनीले सेटरिङको काम समेत गरिसकेको छ । २० मिटर लम्बाई भएको सो पुलको लागत अनुमान चार करोड ८२ लाख ७५ हजार ५६५ रुपैयाँ थियो । तर साजेन्द्रेश्वर निर्माण सेवाले सो पुल निर्माणको ठेक्का तीन करोड ९३ लाख ९७ हजार ९१ रुपैयाँमा लिएको छ । 

यी तीन पुल निर्माणको लागि उपमहानगरपालिकाले २०८० कात्तिक १५ गते साजेन्द्रेश्वर निर्माण सेवासंग सम्झौता गरेको थियो । पुल निर्माणको गर्न निर्माण कम्पनीलाई उपमहानगरपालिकाले २०८२ कात्तिक १४ गतेसम्मको म्याद दिएको छ । अहिलेकै गतिमा काम भए आउँदो असारसम्म पुलबाट गाडी चलाउन सकिने इञ्जिनियर भट्टले बताए ।
 

प्रतिक्रिया