ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अर्जुन ट्रफीको फाइनलमा

शनिबार २६, माघ २०८१ ०३:३८

धनगढी । फ्रेन्ड्स क्लब डडेल्धुरा कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले स्तब्ध पार्दै डडेल्धुरा उपाधि नजिक पुगेको हो । डडेल्धुरालाई फाइनल पुगाउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कुशल भुर्तेलले अलराण्ड प्रदर्शन गरे ।

सेमिफाइनलमा बुटवलले दिएको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । डडेल्धुरालाई फाइनलमा पुगाउन कुशल भुर्तेलले २६ बलमा ४६ रन बनाए । उनले छ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, आयुषमान बलमे १६ रन बनाए । बुटवलका प्रिन्स पालले तीन तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट लिए । 

त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो । उसका लागि आरिफ खानले २०, दीपक डुम्रेले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । डडेल्धुराका कुशल भुर्तेलले पाँच विकेट लिए । उनी खेलका म्यान अफ द म्याच भए । यस्तै, अजय चौहानले तीन तथा हेमन्त धामी र अशोक धामीले एक–एक विकेट लिए । 
सेमिफाइनलको अर्को खेल आइतबार हुने छ । उक्त खेलमा डीसीए धनगढी र सिवाइसी अत्तरिया भिड्ने छन् । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल माघ २८ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
 

प्रतिक्रिया